असार २५ मा माओवादी निकट ट्रेड युनियनहरुको संयुक्त एकता सम्मेलन हुने

१३ असार, काठमाडौं ।

trade union

विभिन्न समयमा विभाजित माओवादी पार्टीहरु एकता प्रक्रियाबाट नेकपा (माओवादी केन्द्र) बनेसँगै ट्रेड युनियनहरुको पनि एकता सम्मेलन तथा प्रशिक्षण हुने भएको छ ।

अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रीय कार्यालय कोटेश्वरमा असार १२ र १३ गते फ्रयाक्सन इन्चार्ज जयपुरी घर्तीको विशेष उपस्थिति र शालिकराम जमरकट्टेलको अध्यक्षतामा बसेको संयुक्त बैठकले असार २५ गते काठमाडौंमा एकता सम्मेलन तथा प्रशिक्षण कार्यक्रम गर्ने टुङ्गो लगाएको हो ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका महासचिव शालिक काफ्लेले हाकाहाकी डट कमलाई दिएको जानकारी अनुसार तत्कालीन एनेकपा माओवादी निकट नेपाल ट्रेड युनियन महासंघ, रामबहादुर थापा ‘बादल’ नेतृत्वको माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, मातृका यादव नेतृत्वको अखिल नेपाल ट्रेड युनियन महासंघ (क्रान्तिकारी) र मणि थापा नेतृत्वको क्रान्तिकारी ट्रेड युनियन विङ्ग साथै विप्लव माओवादीबाट एकता प्रक्रियामा आएका तिलक परियारसँग आएका ट्रेड युनियन सम्बद्ध सबै केन्द्रीय सदस्यहरु स्वतः केन्द्रीय समितिमा रहने गरी एकता सम्मेलनले ४५९ सदस्य भन्दा नबढ्ने गरी केन्द्रीय समिति गठन गर्नेछ ।

महासचिव काफ्लेले केन्द्रीय समितिको संख्या ठोस गरिएको तर पदाधिकारी र संगठनको नाम बारे टुङ्गो लाग्न बाँकी नै रहेको बताए । विभिन्न समयमा विभाजित माओवादी घटकहरुको पार्टी केन्द्र र प्रदेशहरुको एकता भेला-सम्मेलन भए पनि ट्रेड युनियनहरुको एकता भेला-सम्मेलन हुन सकेको थिएन ।

तपाइको मत