१९ बैशाख, काठमाडौं ।
आज १२७ औं अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । राजनीतिक दलका मजदुर संगठनहरुलाई मे दिवस पर्वको रुपमा आए तापनि साँझ बिहान हातमुख जोर्न श्रमको विकल्प नभएका श्रमिक मजदुरहरुलाई भने यो दिवसले छुन सकेको देखिएन ।
यद्यपि, काँग्रेस, एमाले, एमाओवादी साथै अन्य माओवादीका घटक मजदुर संगठनहरुले विभिन्न कार्यक्रम आयोजना गरी मे १ मनाएका छन् ।
आठ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनका लागि युरोप र अमेरिकाका मजदुरहरुले गरेको संघर्षको सम्झनामा प्रत्येक वर्ष मे १ तारिखलाई अन्तर्राष्ट्रिय मजदुर दिवसको रुपमा मनाउने गरिन्छ ।
१७ औं शताब्दीमा भएको संघर्षबाट मजदुरहरुले अधिकार प्राप्त गरेसँगै सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभरका मजदुरहरुले आजको दिनलाई मजदुर दिवसका रुपमा मनाउँदै आइरहेका छन् ।
नेपालमा पनि सन् १९६३ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने क्रम जारी छ । तर यस दिनलाई वि.सं २०६४ बाट मात्र आधिकारिक बिदाको रूपमा घोषणा गरिएको हो ।