३ असार, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन चीनको ७ दिने भ्रमण सकेर बिहीबार स्वदेश फर्किएका छन् । पुनको सवारीका कारण उनका पुत्र दिपेश पुन रिसले फायर भएका छन् ।

तस्बिर : दिपेश पुनको फेसबुक पेजबाट/इन्सेटमा उपराष्ट्रपति पुत्र ।
बिहीबार उपराष्ट्रपतिलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जानेक्रममा उपराष्ट्रपति पुत्र समय सडक जाममा परेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा सरकारले भिआईपी सवारी हुँदा सडकमा निजी तथा सार्वजनिक सवारी सञ्चालनमा रोक नलगाई नयाँ नियम वा छोटो बाटोको वैकल्पिक व्यवस्था गर्नु सुझाएका छन् ।
‘आज उपराष्ट्रपतिको सवारीको कारण म माइक्रोमा घण्टौ जाममा पर्दा म नाताले उपराष्ट्रपतिको छोरो दिपेशलाई त यति धेरै रिस उठ्यो कि भनि साध्य छैन’ उपराष्ट्रपति पुत्र दिपेशले प्रश्न गरेका छन्, ‘अरु सर्वसाधारण जनतालाई झन् कति रिस उठ्छ होला ?’
सुरक्षा वा जे जे कारणले भए पनि सरकारले भिआईपी सवारी हुँदा सकभर सडकमा अरु निजी तथा सार्वजनिक सवारी सञ्चालनमा रोक नलगाई नयाँ नियम वा छोटो बाटोको वैकल्पिक व्यवस्था गर्न सुझाउँदै उपराष्ट्रपति पुत्र दिपेशले भिआईपी सवारी हुँदा सडकमा सर्व साधारणको हैरानी ब्यहोर्नु नपर्ने गरी ट्राफिक व्यवस्था गर्दा कसो होला ? भनी प्रश्न गरेका छन् ।
उपराष्ट्रपति पुन चीनको युनान प्रान्तको राजधानी कुनमिङमा आयोजित चौथो चीन–दक्षिण एसिया मेला र २४औँ चीन कुनमिङ आयात निर्यात व्यापार मेलामा भाग लिएर बिहीबार स्वदेश फकिएका हुन् ।