५ असार ०७४, काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवमाथि राष्ट्रिय जनता पार्टी नेपालका एक नेताले सरकारबाट पैसा लिएर चुनावमा सहभागी भएको बताएका छन् ।
सोमबार रिपोर्टर्स क्लबको साक्षात्कारमा राजपा नेपालका नेता मनिष सुमनले यादवमाथि सरकारसँग मोटो रकम बुझेर चुनावमा भाग लिएको आरोप लगाएका हुन् ।
‘उपेन्द्र यादवले मधेशी जनतालाई धोका दिएका छन्, सरकारसँग मोटो रकम बुझेका छन्’ सुमनले भने, ‘त्यो प्रमाण मसँग छ, पर्यो भने देखाउन सक्छु ।’
राजपाले स्थानीय निर्वाचनलाई सशक्त बहिष्कार गर्ने रणनीति लिएको उनले बताउँदै उनले भने, ‘शान्तिपूर्ण रुपमा चुनाव बहिष्कार गर्न पाउने हाम्रो अधिकार हो तर, यहाँ राज्यले दमन गरेको छ । जबरजस्ती जारी गरेको संविधानलाई कार्यान्वयन गर्नका लागि जबरजस्ती ढप्पा लगाउने काम मात्रै हो ।’
राजपा नेता मनिष सुमनले आफूहरुले स्थानीय तहको संख्या जनसंख्याको आधारमा बढाउनु पर्ने, आन्दोलनकारीलाई क्षतिपूर्ति दिनुपर्ने, निर्वाचनको माहोल बनाउनु पर्ने बताए ।
आरोप पुष्टि गर, नभए माफी माग – यादव
यसैबीच संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूविरुद्ध लगाएको आरोप पुष्टि गर्न राजपा नेतालाई चुनौती दिएका छन् ।
फोरम नेपालका अध्यक्ष यादवले आरोपको खण्डन गर्दै भनेका छन्, ‘जसले यस्तो घटिया आरोप लगाएको छ, उसले आरोप पुष्टि गर्न तत्काल प्रमाण पेस गरोस् प्रमाण दिन सक्दैन भने मधेशी जनतासँग सार्वजनिक रुपमा माफी मागोस् ।’
राजपाको राजनीति दिशाहीन र औचित्यहीन भइसकेको भन्दै उनले दिग्भ्रमित राजपा नेताहरुले घटिया अभिव्यक्ति दिन थालेको यादवको टिप्पणी छ ।
राजपा बाहिरबाट परिचालित पार्टी भएको टिप्पणी गर्दै यादवलेे भने, ‘अरुमाथि यसरी आरोप लगाउने राजपा जस्तो पार्टीको आयश्रोत के हो ? कहाँबाट संचालित छ ? कसरी चलेको छ ? यसको जवाफ राजपासँग छ ?’
राजपा नेताहरुसँग राजनीतिक एजेन्डा नै नभएको भन्दै उनले अरुको चरित्र हत्या गर्ने, निराधार भ्रम सिर्जना गर्ने र बदनियतपूर्ण आरोप लगाउने जस्ता घटिया कार्यमा उत्रेको बताएका छन् ।
यादवले राजपा नेताहरुलाई सन्तुलन नगुमाई निष्ठा एवं एजेन्डामुखी राजनीति गर्न सुझाएका छन् ।