कर फछ्र्योट आयोगका पदाधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

२ साउन, काठमाडौं । कर फछ्र्योट आयोगका पदाधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेशप्रसाद ढकाल र सदस्यसचिव चूडामणि शर्माविरुद्ध १० अर्ब दुई करोड रुपियाँभन्दा बढी बिगो मागदाबीसहित  मुद्दा दर्ता गरेको हो ।

अख्तियारले तीन जना पदाधिकारीसँग १० अर्ब दुई करोड १९ लाख एक हजार ८४२ रुपियाँ बिगो दाबी गर्नुका साथै बिगोबमोजिम जरिवानासमेत भराउन आरोपपत्रमा माग गरेको छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ (झ) बमोजिम कैद सजायको पनि माग गरेको छ ।  ऐनको उक्त व्यवस्थाअनुसार आरोप प्रमाणित भएमा कर फछ्र्योटका पदाधिकारीविरुद्ध कम्तीमा आठ वर्ष कैद हुनसक्छ ।

व्यवस्थाअनुसार एक करोड रुपियाँभन्दा बढी बिगो दाबीको हकमा आठ वर्षदेखि दस वर्षसम्म कैदको व्यवस्था छ ।  यस्तै बिगो र सोही बमोजिमको जरिवाना हुनसक्ने प्रावधान ऐनमा छ ।

गत बिहीबार र शुक्रबार दुई दिनसम्म समय अभावका कारण दर्ता हुन नसकेको मुद्दा आइतबार बिहान दर्ता भएको हो ।

तपाइको मत