१३ असार, काठमाडौँ । विप्लब नेतृत्वको नेकपा माओवादीले जिल्ला विकास समिति कालीकोटका प्राविधिक जनक रोकायालाई कालोमोसो दलेका छन ।

तस्बिर: जनखबर
प्राविधिक रोकायाले विगत लामो समयदेखि जिल्लाका विभिन्न विकास निर्माणका योजनाहरुमा उपभोक्ता समितिबाट ३० प्रतिशत बढी रकम कमिशन माग्ने गरेको साथै कर्णाली रोजगार कार्यक्रमको सामान खरिदमा २५ प्रतिशत रकम कमिशन लिई योजनाहरु अधुरै छाडेको भन्दै विप्लब माओवादी कालीकोटका कार्यकर्ताले कालीकोटको सदरमुकामस्थित मान्मको विच बजारमा कालोमोसो दलेका हुन ।
रोकायले एक करोड भन्दा ठूला योजनाहरुमा २ देखि ३ लाख रुपैयाँसम्म कमिशन माग्ने गरेको र नदिएमा योजनाहरुको फरफारकमा रोक्ने गरेको बताइएको छ ।
विप्लब माओवादीका केन्द्रिय सदस्य एटमले भ्रष्टाचारी माथिको कावाही आफूहरुले नरोक्ने बताउँदै भ्रष्टाचारी जिविस प्राविधिक रोकायालाई कालोमोसो दलिएको बताए ।
जिविस प्राविधिक जनक रोकायामाथि अभद्र व्यावहार गरेको भन्दै घटनामा संलग्न भएको आरोपमा माओवादी भेरी-कर्णाली मुक्ति मोर्चाका संयोजक कर्ण बहादुर भण्डारी (विराट)लाई जिल्ला प्रहरी कार्यालय कालीकोटले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक टेक बहादुर जोराले जानकारी दिएका छन ।