डा. गोविन्द केसीको अनशन समर्थनमा विशाल सभापछि समर्थकले शीर्ष नेताहरुको निवास घेर्ने

२८ साउन ०७४, काठमाडौं । अनशनरत डा. गोविन्द केसीको अनशन लम्बिदै जाँदा उनको समर्थनमा विशाल सभा भएको छ।

शनिबार काठमाडौंमा माइतीघरबाट सुरु भएको ¥याली नयाँ वानेश्वर पुगेर सभामा परिणत भएको हो ।  डाक्टर, विद्यार्थी, स्वास्थ्य कर्मचारी, विभिन्न पेशाकर्मीसहित हजारौंको सहभागिता रहेको सभामा आमनागरिकको उल्लेख्य सहभागिता रहेको थियो ।

विशाल सभा समापनपछि  समर्थकहरु बाँडिएर डा. केसीका माग सम्बोधनका लागि दबाव दिन  शनिबार दिउँसो भक्तपुर बालकोटस्थित केपी ओलीको बालकोट निवास र लाजिम्पाटस्थित पुष्पकमल दाहालको निवास घेर्न जाने भएका हुन् ।

सभामा बोल्ने वक्ताहरुले डा. केसीका माग तत्काल पूरा गरी उनको जीवन रक्षाका लागि सरकारसँग जोडदार माग गरेका छन् ।

शुक्रबार महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिले पारित गरेको चिकित्सा शिक्षा विधेयकमा डा. केसीले असहमति जनाएका छन् । विधेयकले काठमाडौं उपत्यकामा नयाँ मेडिकल कलेज सञ्चालनका लागि बाटो खुला गरिदिएपछि डा. केसीले असहमति जनाएका हुन् । माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र पूर्व स्वास्थ्य मन्त्री गगन थापाको लामो प्रयासपछि शुक्रबार विधेयकमा मध्यमार्गी सहमति जुटेको थियो।

विधेयक पारित भएसँगै सरकारले शुक्रबारै अनशन तोड्न आग्रह गरे पनि डा. केसीले आफ्नो माग सम्बोधन नभएको भन्दै अनशन जारी राख्ने उद्घोष गरेका छन् ।

लामो अनशनका कारण डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । डा. केसीले काठमाडौं उपत्यकामा कम्तीमा १० वर्ष नयाँ मेडिकल कलेज  सञ्चालन गर्न नहुने अडान राखेका छन् ।

डा. केसीको माग पूरा गर्न दबाव दिने उद्देश्यले नेपाल चिकित्सक संघ र सरकारी चिकित्सक संघले शुक्रबारबाट देशभरका स्वास्थ्य संस्थामा ओपिडी सेवा बहिष्कार गर्ने निर्णय गरेका छन्। उनका अन्य मागमा पनि सहमति जुट्न सकेको छैन ।

यसअघि डा. केसीको समर्थनमा डाक्टर र विद्यार्थीहरुले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार घेरेका थिए। डा. केसीको अनशन लम्बिँदै जाँदा माग सम्बोधन र जीवनरक्षाको माग गर्दै विभिन्न दबावमूलक अभियान हुने क्रम बढ्दै गएको छ।

तपाइको मत