३१ साउन ०७४, काठमाडौं । नेपालको तीनदिने औपचारिक भ्रमणमा सोमबार साँझ काठमाडौं आइपुगेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङले डोक्लम विवादमा नेपालले लिएको पोजिसनलाई सकारात्मक रूपमा लिएको बताइएको छ ।
जानकार कूटनीतिक स्रोतका अनुसार चिनियाँ उपप्रधानमन्त्री वाङ याङको जारी नेपाल भ्रमणको एउटा एजेन्डा डोक्लम पनि रहेको र त्यसबारे चीनले नेपाल तटस्थ रहोस भन्ने चाहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा डोक्लम समस्याबारे छलफल तथा भ्रमणपछि आउने संयुक्त वक्तव्यमा उल्लेख नहोस् भन्ने चिनियाँ चाहना देखिएको अधिकारीहरूले बताएका छन् ।
चीन र भुटानबीच डोक्लम क्षेत्रमा देखिएको सीमा विवादमा भारतीय सैनिक हस्तक्षेपपछि उत्पन्न तनावले चरम रूप लिएसँगै चीन र भारतबीच सीमायुद्ध हुन सक्ने आशंका व्याप्त भएका बेला चिनियाँ उपप्रधानमन्त्रीको नेपाल भ्रमण भएको छ ।
डोक्लममा चीन र भुटान दुवैको दाबी छ । चिनियाँ सेनाले दुई महिनाअघि डोक्लम क्षेत्रमा सडक निर्माण गरिरहँदा भारतले सेना प्रयोग गरी रोकेपछि चीन र भारतबीच तनाव बढेको छ ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले डोक्लम क्षेत्रबारे चीन, भुटान र भारतबीच देखिएको विवादसँग जोडेर चिनियाँ उपप्रधानमन्त्री वाङ याङको भ्रमणलाई लिन नहुने भन्दै उनको यो भ्रमण पूर्वनिर्धारित नै भएको बताएका छन् ।