१४ असार ०७४, काठमाडौं । दोस्रो चरणको स्थानीय तहको चुनाव अन्तगर्त आज तीनवटा प्रदेशका ३५ जिल्लामा मतदान सम्पन्न भएको छ ।
बुधबार निर्वाचन आयोगले तोकेको समय विहान सात बजेबाट ५ बजेसम्म मतदान भएको हो । निर्वाचनमा तीनै प्रदेशका मतदाताहरुले उत्साहपूर्ण रुपमा सहभागी भएर मतदान गरेका छन् । यद्यपी ५ बजेभित्रै लाइनमा बसेका मतदाताले भने मतदानको पालो नआउन्जेलसम्म मतदान गर्न पाउनेछन् ।
पूर्वी नेपालका केही जिल्लामा बिहानीपख पानी परेका कारण मतदान सामन्य प्रभावित भएपनि दिउँसोबाट मौसमले साथ दिँदा सर्वसाधारणले सहजै मतदान गर्न पाएका छन् । मतदानका लागि आज बिहानैदेखि मतदानस्थलहरुमा मतदाताको लामो भीड लागेको थियो ।
अछाम र बाजुरा लगायतका जिल्लाका केही स्थानमा दलका कार्यकर्तावीच सामान्य झडप भएपनि ठुलो दुर्घटना भने हुन पाएन ।
यो निर्वाचनमा राजपा प्रभावित जिल्लाहरुमा पनि चुनावमा कुनै समस्या भएन । चुनाव बहिस्कार गरेपनि कपिलबस्तु र रुपन्देहीमा राजपाका स्थानीय नेताहरुले स्वतन्त्र रुपमा उम्मेदवारी दिएर चुनावमा सहभागि भए । नवलपरासी, रुपन्देही र कपिलबस्तुको दक्षिणी भेगमा पनि शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न भएका खवरहरु प्राप्त भएका छन् ।
दोस्रो चरणको निर्वाचनमा ६२ हजार ४०८ उम्मेदवार मैदानमा छन् भने ति मध्येबाट १५ हजार ३८ जना जनप्रतिनीधि निर्वाचित हुनेछन् । स्थानीय तह दोस्रो चरण अन्र्तगत असार १४ मा ३५ जिल्लाका ३३४ स्थानीय तहमा चुनाव भएको हो । जसमा १ महानगरपालिका, ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाँउपालिका छन् ।
दोस्रो चरणमा प्रदेश नम्वर १ का १४ जिल्लामा चुनाव भएको छ जहाँ १३७ स्थानीय तह छन् । महानगर–१, उपमहानगर २, नगरपालिका ४६ र गाउँपालिका ८८ छन् । ११५७ वडा रहेको एक नम्वर प्रदेशमा १८३१ मतदान स्थल छन् भने ३४५९ मतदान केन्द्र छन् । १ नम्वर प्रदेशमा २६ लाख ७२ हजार पाँच सय ६३ मतदाता रहेका थिए ।
प्रदेश नम्वर ५ मा रहेका १२ जिल्ला छन् । जसमा नवलपरासी र रुकुमका केही भाग पनि पर्छन् । यहाँ १०९ स्थानीय तह अन्तर्गत उपमहानगरपालिका ४, नगरपालिका ३२ र गाउँपालिका ७३ छन् । यो प्रदेशमा १६१२ मतदान स्थाल र ३१२५ मतदान केन्द्र कायम गरिएको थियो । प्रदेश नम्बर ५ बाट २४ लाख ५४ हजार चार सय ८८ मतदाता चुनावमा सहभागि बनेका छन् ।
दोस्रो चरणमा चुनाव भएको ७ नम्वर प्रदेशमा ९ जिल्ला छन् । यहाँ जम्मा ८८ स्थानीय तह छन्, जसमा उपमहानगर १, नगरपालिका ३३ र गाउँपालिका ५४ छन् । यहाँ ७३४ वडा छन, ११०८ मतदान स्थाल छन भने १७८० मतदान केन्द्र छन् । यहाँको मतदाता सख्या १३ लाख तीन हजार सात सय १४ छ ।