निर्वाचनका लागि अावश्यक सुरक्षा प्रबन्ध मिलाइसकेको गृहमन्त्रीकाे भनाई

१२ असार ०७४, काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले मतदाताहरुलाई १४ गते हुने निर्वाचनमा ढुक्क भएर मतदान गर्न आह्वान गरेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा गृहमन्त्री शर्माले निर्वाचन शान्तिपूर्ण रुपमा सफल बनाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाइसकेको बताएका हुन् ।

शर्माले भने, ‘निर्वाचनको लागि सुरक्षाको कुनै समस्या छैन, सरकारले सबै प्रबन्ध मिलाएको छ, सबैले आफ्नो मतदानअधिकार प्रयोग गर्नुहोस् ।’

मतदान गर्न जाँदा बाधा, अबरोध नआउने भन्दै उनले भने, ‘तपाईहरु आफ्नो मताधिकार स्वतन्त्र, भयरहित र निर्भिक रुपमा गर्न पाउनु हुनेछ, त्यसको जस्तोसुकै सुरक्षा दिन पनि सरकार तयार छ ।’

गृहमन्त्री शर्माले सुरक्षाको पहिलो आधार नै जनताको उत्साहजनक सहभागिता भएको बताए । उनले भने, ‘दोस्रो आधार भनेको सुरक्षा निकाय हो, समस्या आए तत्काल निराकरण गर्न सुरक्षा निकाय तयार भएर बसेको छ ।’

तपाइको मत