३० जेठ ०७४, काठमाडौं । नेपाल अन्तर्र्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) सञ्चालक समिति ‘गभर्निङ बडी’को सहायक सदस्यमा निर्वाचित भएको छ ।
आइएलओअन्तर्गत मध्य-एसियाको उपक्षेत्रीय समूहमा दुई देश मात्रै निर्वाचित हुन पाउने प्रावधान रहेकामा तीन देशको उम्मेदवारी परेपछि आज निर्वाचन भएको थियो ।
नेपालसहित भारत, इरान, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स, अफगानिस्तान र श्रीलङ्का मध्य एसियाको उपक्षेत्रीय समूहमा छन् ।
समितिको सहायक सदस्यमा ६६ सदस्य हुने प्रावधान छ । जसमा सरकारीतर्फबाट २८ देश तथा निजी क्षेत्रतर्फ रोजगारदाता र कामदारबाट १९–१९ जना सदस्य रहने व्यवस्था छ ।
स्वीट्जरल्यान्डको जेनेभामा जारी आइएलओ १०६ औँ अन्तर्राष्ट्रिय श्रमिक सम्मेलनमा सदस्यका लागि नेपालसहित बङ्गलादेश र पाकिस्तानले उम्मेदवारी दिएका थिए ।
आज भएको निर्वाचनमा बङ्गलादेश र नेपाल विजयी भएको तथा पाकिस्तानले पराजय भोगेको संयुक्त राष्ट्र सङ्घीय नियोगका लागि नेपालका स्थायी प्रतिनिधि दीपक धितालले जेनेभाबाट जानकारी दिए ।
नेपाल सन् १९६६ देखि आइएलओको सदस्य भए पनि हालसम्म आइएलओेको कुनै पदमा सरकारीतर्फबाट सदस्य बनेको थिएन ।
निजी क्षेत्रबाट भने नेपालका विभिन्न ट्रेड युनियनका नेता कामदारको प्रतिनिधित्व गर्दै तीन पटक सहायक सदस्य बनिसकेका छन् ।