१९ जेठ ०७४, काठमाडौं । विपक्षी दलहरुको विरोधका बीच सूचना टाँसेर प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सुरु भएको छ ।सत्तारुढ दल र विपक्षी दलहरुबीच सहमति जुटाउन प्रयास असफल भएपछि सभामुख ओनसरी घर्ती मगरले सूचनामार्फत नै बहुमतीय प्रक्रियाबाट सरकार गठन गर्न राष्ट्रपति विद्या भण्डारीबाट आहृवान भएको जानकारी दिइन् ।
त्यस लगतै संसद सचिवालयले प्रधानमन्त्री निर्वाचन तालिका सार्वजनिक गरेको छ । निर्वाचन तालिका अनुसार भोलि शनिबार विहान ११ देखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ भने आइतबार विहान ११ बजेको बैठकमा निर्वाचन हुनेछ ।
विपक्षी एमालेले भरतपुरको मतगणना सुरु नभएसम्म संसद चल्न नदिने अडान लिदै प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया संसदबाटै सुरु गर्नु पर्ने माग राखेको थियो । एमालेको अवरोधकै कारण बहुमतीय सरकार गठनका लागि आहृवान गरिएको राष्ट्रपतिले पठाएको पत्र समेत संसदमा पेश हुन सकेको थिएन ।