१४ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी चीन भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका छन् ।
चीन भ्रमणमा गएका प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा चीनसँग १० वटा सम्झौता गरेका छन् । भ्रमणका क्रममा चीन र नेपालबीच १५ बुँदे संयुक्त विज्ञप्तिसमेत जारी भएको छ ।
प्रधानमन्त्री ओली चैत ७ गते आइतबार जम्बो टोली लिएर ८ दिने भ्रमणका लागि उत्तरी छिमेकी चीन प्रस्थान गरेका हुन् । उनी झण्डै सय जनाको टोली लिएर चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणामा त्यसतर्फ गएका हुन् ।
भ्रमण दलमा कतिपय व्यक्तिहरू चीन घुम्नकै लागि मात्र पनि सामेल भए । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्रीको औपचारिक टोलीको सदस्य संख्या ५६ थिए । जसमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, वाणिज्यमन्त्री दीपक बोहरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रधानमन्त्री-पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु रिमाल, सरकारमा सामेल र प्रमुख प्रतिपक्ष दलका सांसदसमेत भ्रमण दलमा थिए । साथै, उनको भ्रमण टोलीमा व्यापारी र निजी क्षेत्रका ३५ जना थिए ।
प्रधानमन्त्री ओली राष्ट्रिय ध्वजावाहक जहाजको सट्टा सञ्चालनमा नै नआएको निजी विमान कम्पनी हिमालय एयरलाइन्सको जहाज चढेर चीन प्रस्थान गरेका थिए ।