३१ असार ०७४, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश गोपाल पराजुलीको संसदीय सुनुवाइ गर्ने संसदीय सुनुवाइ विशेष समितिले निर्णय गरेको छ ।
समितिको शुक्रबार बिहान बसेको बैठकले पराजुलीको सुनुवाइ भोलि साउन १ गते आइतबार गर्ने निर्णय गरेको हो ।
पराजुलीविरुद्ध उजुरी आह्वानको समयमा कुनै पनि उजुरी दर्ता नभएपछि सुनुवाइको कार्यविधिअनुसार सुनुवाइ बोलाइएको समितिका सचिव ध्रुवप्रसाद घिमिरेले बताए ।
यसअघि समितिले असार १९ गतेदेखि १० दिनको समय दिएर पराजुलीका सम्बन्धमा उजुरी भए पेस गर्न समय दिएको थियो । सरोकारवाला र सर्वसाधारण समेतलाई दिइएको उक्त समयसीमा बुधबार सकिएको हो ।
असार १५ गते संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशका लागि पराजुलीको नाम सिफारिस गरेको थियो । तर, प्रमुख विपक्षी दलको असहमतिका कारण उनको सिफारिस केही दिन रोकिएको थियो ।
समितिले सुनुवाइ प्रक्रिया सुरु भएको ४५ दिनभित्र प्रस्तावित पदाधिकारीको नाम स्वीकृत वा अस्वीकृत निर्णय लिइसक्नु पर्ने प्रावधान छ ।