वीरगन्ज नाका हुँदै नेपाल भित्रिने इन्धन बिहीबारदेखि ठप्प

३० बैशाख, काठमाडौं । रक्सौलमा भारतीय प्रहरीले नेपाली टयाङ्कर चालकलाई कुटेको विरोधमा वीरगन्ज नाका हुँदै भारतको बरौनीबाट नेपाल ढुवानी हुने इन्धन बिहीबारदेखि ठप्प भएको छ ।  ।
नेपाल आयल निगम क्षेत्रीय कार्यालय अमलेखगन्ज डिप्पोका प्रमुख खिलेन्द्र कार्कीकाअनुसार भारतीय प्रहरीले नेपाली ट्याङकर चालकलाई कुटपिट गरेको विरोधमा चालकहरुले इन्धन ढुवानी गर्न नमानेपछि वीरगन्ज नाका हुदै नेपाल भित्रिने इन्धन ढुवानी ठप्प भएको हो ।
रक्सौलमा रहेको भारतीय प्रहरी थानाका इन्चार्ज प्रहरी निरीक्षक राजेश्वर प्रसाद साहले घूस बापत मागेको रकम नदिएपछि त्यसैको निहुँमा
गत मङगलवार ४ ख २८०६ नम्बरको ट्याङ्करका चालक बाबु तामाङलाई र बुधबार अरु चारजना चालकलाई मरणासन्न हुने गरि कुटेको एक ट्याङ्कर चालकले बताउँदै  इन्धन लिएर आउने ट्याङ्कर चाकलसँग रक्सौल प्रहरी थानाका इन्चार्जले प्रति ट्याङ्कर तीन सयदेखि पाँच सय भारु असुल गर्दछ ।
भारतीय प्रहरीबाट कुटिएका चालक र पेट्रोलियम ढुवानी व्यवसायीहरुले बिहीबार पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठलाई भेटेर घटनाबारे जानकारी गराएको पेट्रोलिय ढुवानी व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष मनोज दासले बताए ।
घटनाबारे जानकारी पाएपछि प्रहरी उपरीक्षक श्रेष्ठले रक्सौलका डिएसपी राकेश कुमारसँग छलफल गरेपछि भारतीय डिएसपीले दोषी इन्स्पेक्टर साहलाई त्यहाँबाट तत्काल हटाउने आश्वासन दिए पनि उसको कुरामा विश्वास नलागेको उपाध्यक्ष दासले बताए ।
भारतीय प्रहरीले नेपाली ट्याङ्कर चालकसँग असुल्दै आएको रकम बढाउन दबाब दिँदा चालकहरुले नमानेपछि कुटपिट गरेको नेपाल पेट्रोलिय ढुवानी व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष मनोज दासको जिकिर छ ।

तपाइको मत