२४ साउन ०७४, ललितपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान निर्वाचन प्रणाली बदल्नुपर्ने बताएका छन् ।
मंगलबार ललितपुरमा आयोजित प्रदेश नं. ३ अन्तर्गतका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्यहरुको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले अहिलेको निर्वाचन प्रणालीले गरीब, उत्पीडितहरुले निर्वाचन जित्न नसक्ने भएकाले निर्वाचन प्रणाली बदल्नुपर्ने बताएका हुन् ।
‘भर्खरै ६ प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । एउटा गाउँपालिका जित्न ४-५ करोड खर्च भएको छ, यो सामान्य कुरा होइन ।’ प्रचण्डले भने, ‘बिहान बेलुका छाक टार्न मुस्किल हुनेहरु क्षमता र जनविश्वास भएर पनि निर्वाचन जित्न सक्दैनन् । यो धनीले मात्र जित्ने र प्रतिभा एवं जनसमर्थन भएर पनि गरीबले हार्ने निर्वाचन प्रणाली हो । यसलाई बदल्नुको बिकल्प छैन ।’
उनले पार्टीहरु बीच चुनावमा प्रतिस्पर्धा हुने पूर्ण समानुपातिक प्रणालीले मात्र निर्वाचनमा देखिएको आर्थिक अराजकता र बिकृतिलाई रोक्न सक्ने बताए ।
अध्यक्ष प्रचण्डले माओवादी र देशभक्तहरुको एकताको नेतृत्व माओवादी केन्द्रले गर्नुपर्ने बताए ।
‘हामी निर्वाचन लड्यौं, बाबुरामजी, वैद्यजीहरु पनि चुनाव लड्नुभयो, विप्लवजीहरु हामीलाई हराउनकै लागि भए पनि चुनाव लड्नुभयो । तर, जनताले उहाँहरु सबैलाई तिमीहरु माओवादी नै हो, माओवादी केन्द्रसँग मिल भन्ने जनादेश दिए ।’ प्रचण्डले भने, ‘हामीलाई पनि जनताले तिमीहरु एक्लैले हुँदैन, एकताका लागि पहल गर भन्ने सन्देश दिएका छन् । जनताको यो आवाजलाई बुझेर सबै माओवादी धारा र देशभक्तहरु एक हुनुको बिकल्प छैन ।’