अखिल क्रान्तिकारीको केन्द्रीय नेतृत्वका लागि दिउँसो १ बजेदेखि आज कीर्तिपुरमा चुनाव हुने

१४ भदौ ०७४, काठमाडौं । माओवादी समर्थित अखिल क्रान्तिकारीको केन्द्रीय नेतृत्वका लागि कीर्तिपुरमा दिउँसो १ बजेदेखि आज चुनाव हुँदैछ ।  निर्वाचनका लागि अहिले मतपत्र छाप्ने काम भइरहेको छ ।

अखिल क्रान्तिकारीले आफ्नो इतिहासमै पहिलोपटक चुनावको माध्यमबाट नेतृत्व छान्न लागेको हो । अध्यक्ष पदका लागि अनिल शर्मा र रञ्जित तामाङ मैदानमा छन् । शर्मालाई गृहमन्त्री जनार्दन शर्मा लगायतको समर्थन छ भने तामाङलाई वर्षमान पुन लगायतको समर्थन छ ।

यसैवीच, नुवाकोटस्थित बेलकोटगढी नगरपालिकामा उपमेयर जितेकी कविता ढुंगानाको उम्मेद्वारी खारेज भएको छ । जनप्रतिनिधि भइसकेपछि पनि कविताले पदको लोभ गर्दै अखिल क्रान्तिकारीको उपाध्यक्षमा उम्मेदवारी दिएकी थिइन् ।

तर, जनप्रतिनिधि भइसकेको व्यक्तिलाई विद्यार्थी संगठनको जिम्मेवारी नदिने निर्णय भएपछि कविताको उम्मेदवारी खारेज भएको हो ।

ढुंगानाको उम्मेदवारी खारेज भएपछि गोरखाकी आशा तमू निर्विरोधरुपमा उपमहासचिव बनेकी छिन् ।

उता बर्दियाको गुलरियामा मेयरको उम्मेदवार बनेर हारेका गेहेन्द्र ढकाल भने क्रान्तिकारीको चुनाव लड्दै छन् । स्थानीय चुनावमा हारेका ढकालजस्तै उम्मेद्वारहरु धेरैजना रहेको एक नेताले बताए ।

मंगलबारदेखि सम्मलेन आसपासका क्षेत्रमा केही अनुचित कार्यहरुसमेत हुन थालेको केहीले गुनासो गरेका छन् । जाँडरक्सी खाने/खुवाउनेदेखि जागिरको आश्वासन दिँदै लोकसेवा आयोगको फारम भराउनेसम्मका क्रियाकलाप हुन थालेको प्रतिनिधिहरुले गुनासो गरेका छन् ।

तर, यो चुनाव धाँधलीरहित र स्वच्छ हुनेमा भने दुबै पक्ष सशंकित छन् ।

 

 

तपाइको मत