१० फागुन ०७४, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघले लेबी नबुझाउने केन्द्रीय कमिटीका सदस्यहरुलाई संगठनबाट हटाउने निर्णय गरेकाे छ ।
संगठनलाई चुस्त र कामकाजी बनाउन महासंघकाे केेेन्द्रीय कार्यालयकाे बैठकले यस्तो निर्णय गरेको हाे ।
अन्टुफ अध्यक्ष गणेश रेग्मी र महासचिव जगत सिंखडाद्वारा हस्ताक्षरित बुधबार जारी परिपत्रमा लेबी नबुझाउने केन्द्रीय कमिटीका सदस्यहरुलाई निलम्बन वा हटाउन सकिने उल्लेख गरिएको छ ।
परिपत्रमा भनिएको छ, ‘प्रत्येक तीन महिनासम्म लेवी नबुझाउने केन्द्रीय कमिटीका सदस्यहरुलाई तीन महिना पुग्न अगावै लेवी बुझाउन जानकारी गराउने । जानकारी पत्र, फोन, मोवाईल मेसेज आदिद्वारा गराउने । यसरी जानकारी गराउँदा पनि लेवी नबुझाएको खण्डमा केन्द्रीय सदस्यबाट निलम्वन वा हटाउन सकिने निर्णय गरियो ।’
संघीय संरचनाअनुसार पेशागत संगठन र महासंघको जिम्मेवारी ठोस गरिने
यसैगरी परिपत्रमा विशेष राष्ट्रिय सम्मेलनबाट पारित महासंघको १५१ सदस्यीय केन्द्रीय समिति गठनका लागि स्थानीय तह र प्रदेश स्तरीय पेशागत संगठन र महासंघको संरचना निर्माण गरी जिम्मेवारी समेत ठोस गर्न निर्देशिका तयार गरी कार्यन्वयनमा लैजाने बताइएको छ ।
‘विशेष राष्ट्रिय सम्मेलनबाट पारित महासंघको १५१ जनाको केन्द्रीय समिति निर्माणका सम्बन्धमा प्रदेश र स्थानीय तहको महासंघको संचरना निर्माण गर्दा सम्बन्धित तहमा कार्यक्षेत्र भएका केन्द्रीय सदस्य, पदाधिकारी मध्येबाटै नेतृत्व निर्माण र व्यवस्थापन गर्दै १५१ जनाको महासंघ केन्द्रीय समिति ठोस गर्ने निर्णय गरियो’, परिपत्रमा अघि भनिएको छ, ‘दुवै तहको जिम्मेवारीका बारेमा पछि विधानमा समावेश गर्ने गरी हाल एक निर्देशिका तयार गरी कार्यान्वयनमा लैजाने निर्णय गरियो ।’
महासंघले सम्मेलनबाट पारित केन्द्रीय समिति ठोस गर्न फागुन १७ गते प्रदेश नं. ५, ६ र ७ को कोहलपुरमा, फागुन १९ गते प्रदेश नं. ३ र ४ को पोखरामा र फागुन २६ गते प्रदेश नं. १ र २ को बर्दिवासमा संयुक्त बैठक राखेको छ ।
सामाजिक सुरक्षा कोष ऐन कार्यन्वयनका लागि स्थानीय तहमा अन्तरक्रिया
सात प्रदेशको ३० स्थानीय तहमा त्रिपक्षीय (ट्रेड युनियन, रोजगारदाता र स्थानीय सरकार) सहभागी गराई सामाजिक सुरक्षा कोष ऐन कार्यन्वयन बारे अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिने सो परिपत्रमा उल्लेख गरिएकोे छ ।
आगामी फागुन २४ गते (८ मार्च) अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस केन्द्र, प्रदेश र स्थानीय तहमा भव्यरुपले मनाउने साथै सामाजिक सुरक्षा कोष ऐन कार्यन्वयन र तलब बृद्धिका विषयमा आगामी मई दिवसलाई संघर्षकै रुपमा अघि बढाउने समेत महासंघको परिपत्रमा उल्लेख छ ।
बैठकले महासंघका फ्रयाक्सन इन्चार्ज जयपुरी घर्ती मगर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त समेत गरेको छ ।