अहिलेको परिवर्तन र उपलब्धि जनयुद्धको प्रतिफल हो – जयपुरी घर्ती

बाँके । नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य जयपुरी घर्ती मगरले अहिलेको परिवर्तन र उपलब्धि जनयुद्धको प्रतिफल भएको बताएकी छन् ।

बिहीबार कोहल्पुरमा आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघको प्रदेश नम्बर ५, ६ र ७ स्तरीय संयुक्त बैठक तथा प्रशिक्षणलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य समेत रहेकी घर्ती मगरले जनयुद्धले गर्दा नै नेपालमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी र समानुपातिकता लगायतका अधिकार प्राप्त भएको बताएकी हुन् ।

‘माओवादी र जनयुद्ध नभएको भए संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी र समानुपातिकता लगायतका अधिकार प्राप्त हुने थिएन,’ अन्टुफ फ्रयाक्सन इन्चार्ज समेत रहेकी घर्ती मगरले भनिन्, ‘संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता विरोधीहरु परिवर्तनको स्वामित्व लिन जनतामा भ्रम दिन खोज्दै छन् ।’

उनले संविधान कार्यान्वयनसँगै नेपाली श्रमिक आन्दोलनले लामो समयदेखि उठाएको मुद्दा सामाजिक सुरक्षा ऐन प्राप्त गर्नु सफलता भएको पनि बताइन् । साथै, श्रम ऐन २०७४ मा केही मजदुर विरोधी दफा रहेकाले संशोधनका लागि महासंघले भूमिका खेल्नु पर्ने बताइन् ।

यसैगरी अन्टुफ अध्यक्ष गणेश रेग्मीले कार्यक्रमलाई सम्बोधन गर्दै महासंघलाई स्थानीय तह, प्रादेशिक र केन्द्रीय संरचनामा लैजाने विशेष राष्ट्रिय सम्मेलनको आदेशअनुरुप बैठक तथा प्रशिक्षण गरिएको बताए ।

साथै, अध्यक्ष रेग्मीले यस वर्ष सामाजिक सुरक्षा कोष ऐन र श्रम ऐन निकै लामो प्रयत्नपछि आएको र ऐन कार्यान्वयन गर्ने विषय निकै चुनौतिपूर्ण रहेको बताए ।

उनले ऐन कार्यान्वयनका लागि ३० स्थानीय तहमा स्थानीय सरकार, रोजगारदाता र ट्रेड युनियनका प्रतिनिधिबीच त्रिपक्षीय अन्तक्रियात्मक कार्याक्रम समेत गरिने जानकारी दिए ।

नेपाली श्रमिकको अहिलेको न्यूनतम् तलबले वर्तमान महङ्गीमा धान्न कठिन रहेको भन्दै अध्यक्ष रेग्मीले खाइपाई आएको तलबमा ५ हजार थपका विषयलाई महासंघले आन्दोलनका रुपमा अघि बढाउने पनि बताए ।

कार्यक्रममा महासंघका उपाध्यक्ष एसवी थापा, महासचिव जगत सिम्खडा लगायत मजदुर नेताहरुले श्रमिकहरुका माग सुनिश्चित गर्न नीति निर्माणको तहमा मजदुरको १० प्रतिशत प्रतिनिधित्व अनिवार्य गरिनु पर्ने बताए ।

अन्टुफ सचिव एवम् अधिवक्ता युवराज लुइँटेलले सामाजिक सुरक्षा ऐन र श्रम एेेन बारेमा जानकारी गराइएकाे उक्त बैठक तथा प्रशिक्षणमा अखिल नेपाल ट्रेड युनियन महासंघका प्रदेश नम्बर ५, ६ र ७ का ईन्चार्ज र संयोजकहरुले प्रादेशिक रिपोर्टिङ राखेका थिए ।

तपाइको मत