१४ साउन ०७४, काठमाडौं । स्वास्थ्य पर्यावरणको लागि बाघको संरक्षण भन्ने नाराका साथ नेपालमा पनि ७ औं विश्व बाघ दिवस मनाईएको छ ।
शनिबार राष्ट्रिय प्रकृति संरक्षण कोष, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग लगायतले राजधानीमा विश्व बाघ दिवसको अवसरमा बाघ संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रम गरेको हो ।
कोषको केन्द्रीय कार्यालय खुमलटारमा गरिएको कार्यक्रममा बाघ संरक्षणको क्षेत्रमा काम गर्दै आएका सरकारी तथा गैह् सरकारी संघ संस्थाहरुले बाघको संख्या बढ्नु आफैमा सुखद पक्ष रहेपनि मानवसंग बढ्दै गएको द्वन्द्वप्रति भने चिन्ता व्यक्त गरेका छन् ।
कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव गोविन्द गजुरेलले बाघ र मानवको सहअस्तित्वलाई आत्मसाथ गर्दै बाघको संख्या बढाउनका लागि उसको उपयुक्त वासस्थान निर्माण र संरक्षणमा विचार पुर्याउनुपर्नेमा जोड दिए । बाघको संख्या वृद्धि संगै मानव र बाघ द्वन्द्वका घटनाहरु बढ्दै गएको सन्र्दभमा द्वन्द्व नै नहुने स्थिति सिर्जना गर्नुपर्ने धारणा उनको थियो ।
वन तथा भू संरक्षण मन्त्रालयका सचिव प्रकाश माथेमाले बाघको संख्या वृद्धिसंगै मानवसंगको द्धन्द्ध पनि बढेको पाईएको भन्दै मानवसंगको द्धन्द्ध व्यवस्थापनमा सबैको सहयोग आवश्यक रहेको बताए । परिस्थितिकीय प्रणालीको उच्च तहमा रहेको प्रजाति भएकाले बाघको संरक्षण गरेमा बाघ पाईने क्षेत्रमा समग्र वन, वनस्पति र अन्य वन्यजन्तु समेत संरक्षण हुने उनको तर्क गरे ।
सरकारले सन् २०२२ सम्ममा नेपालमा पाटे बाघको संख्या २ सय ५० पुर्याउने लक्ष लिएको छ ।