उजिर मगर साधारण सदस्य समेत नरहने गरी सेन्टरबाट निष्काशित

५ भदौ ०७४, काठमाडौं । प्रेस सेन्टर नेपालले एक विज्ञप्ति जारी गरी नेपाल पत्रकार महासंघका निवर्तमान महासचिव उजिर मगरलाई साधारण सदस्य समेत नरहने गरी सेन्टरबाट निष्काशित गरेको छ ।

यसअघि महासंघमा प्रेस सेन्टर नेपाल (तत्कालीन क्रान्तिकारी पत्रकार संघ)को तर्फबाट उम्मेद्वार भई महासचिवमा निर्वाचित मगरले २५औं महाधिवेशनमा संगठनको निर्णय विपरीत अध्यक्ष पदमा उम्मेद्वारी दिई संगठनप्रति गम्भीर घात गरेको भन्दै सेन्टरले कारवाही गरेको हो ।

‘२५ औं महाधिवेशनमा संगठनले अध्यक्षमा गोविन्द आचार्यलाई उम्मेद्वार बनाएकोमा उजिर मगरले संगठनको निर्णय विपरीत अध्यक्ष पदमा उम्मेद्वारी दिई संगठनप्रति गम्भीर घात गर्नुभएको छ’ सेन्टरका महासचिव विष्णु सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘उम्मेदवारी फिर्ता लिई संगठनको निर्णय मान्न पटक पटक निर्देशनात्मक आग्रह गर्दा पनि नमानी आफ्नो उम्मेदवारी कायमै राखेकोले उजिर मगरलाई आजकै मितिदेखि प्रेस सेन्टर नेपालको साधारण सदस्यबाट निस्कासित गरिएको सबैमा जानकारी गराइन्छ ।’

पत्रकार महासंघको २४ औं महाधिवेशनबाट महासचिवमा निर्वाचित भईसके पश्चात मगरले गरेका काम, कारबाही र कार्यशैलीका कारण प्रेस सेन्टरलाई क्षति तुल्याएको विज्ञप्तिमा उल्लेख छ, ‘पत्रकार महासंघका बहालवाला केन्द्रीय सदस्यले समाचारलाई आधार बनाएर लाखौं रुपियाँको बार्गेनिङ गरेको घटनामा खेलेको भूमिका, पत्रकार महासंघको काठमाडौं शाखाको निर्वाचनमा संस्थागत धाँधली गरी प्रेस सेन्टरका उम्मेदवारलाई पराजित गरेकालगायतका घटना संगठनको हित विपरीत छन् ।

महासचिव सापकोटाले सेन्टरका सम्पूर्ण पार्षदहरुलाई भ्रममा नपरी अध्यक्ष पदका उम्मेदवार गोविन्द आचार्य र उहाँ नेतृत्वको लोकतान्त्रिक, प्रगतिशील, समावेशी र व्यवासायिक प्यानललाई मतदान गरी विजयी गराउन अपील गर्दै सेन्टरको कोही कसैले उजिर मगरलाई सहयोग गरेको पाइए कार्बाही गरिने विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रेस विज्ञप्ति :

 

तपाइको मत