उत्तर कोरियाली क्षेप्यास्त्रले जापानी आकाश काट्यो, सुरक्षित र सतर्क रहन सूचना जारी

१३ भदौ ०७४, एजेन्सी । गत शुक्रबार र शनिबार पनि सानो दूरीका तीनवटा क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाले पुनः क्षेप्यास्त्र परीक्षण गरेपछि जापान सरकारले आफ्ना नागरिकहरुलाई सुरक्षित र सतर्क रहन सूचना जारी गरेको छ ।

मंगलबार बिहान उत्तर कोरियाली क्षेप्यास्त्र जापानी आकाशमा पुगेपछि त्यहाँ सजग गराउने साइरन बजेसँगै जापान सरकारले नागरिकहरुलाई भुईँतला वा पक्की घरमा लुक्न आग्रह गर्दै मोबाइलमा म्यासेज पठाएर पनि सतर्क रहन भनिएको हो ।

जापानी प्रधानमन्त्री शिन्जो आबेले उत्तर कोरियाले प्रहार गरेको यो क्षेप्यास्त्र परीक्षण गम्भीर र देशका लागि खतरा भएको प्रतिक्रिया दिएका छन् । उनले जापानी नागरिक र जापानमा बस्दै आएका विदेशी नागरिकहरुको सुरक्षाका लागि सरकारले भरमग्दुर प्रयास गरिरहेको बताएका छन् ।

उत्तर कोरियाको क्षेप्यास्त्र जापानी आकाश पार हुँदै समुद्रमा खसेको छ । उसको आकाशमा यसरी उत्तर कोरियाली क्षेप्यास्त्र आइपुगेको यो पहिलो घटना हो ।

जापानी सरकारी समाचार संस्था एनएचकेका अनुसार उक्त मिसाइल समुद्रमा खस्नु अघि नै आकाशमा तीन टुक्रा भएको थियो । यद्यपि त्यसले क्षति पुर्‍याए-नपुर्‍याएकोबारे केही खुलेको छैन ।

सरकारले सुरक्षित रहन भन्दै सूचना जारी गरेपछि जापान बस्दै आएकाहरु आतंकित बनेका छन् । उनीहरुले सामाजिक सञ्जालमार्फत् एकअर्कालाई सूचना शेयर गरिरहेका छन् ।

 

उत्तर कोरियाको यो क्षेप्यास्त्र परीक्षणपछि जापान र उत्तर कोरियाबीच तनाव बढ्न सक्ने अनुमान गरिएको छ । जापान सरकारका मुख्यसचिव योशिहिदे सुगाले उत्तर कोरियाली परीक्षणको जवाफस्वरुप उपयुक्त कदम चाल्ने बताएको बीबीसीले लेखेको छ ।

तपाइको मत