एमालेकाे जनसंगठन उद्धार र राहत कार्यमा परिचालन

३० साउन ०७४, काठमाडौं । नेकपा एमालेले अबिरल वर्षाका कारण विभिन्न भागमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार र राहत कार्यमा जनसंगठनहरूलाई परिचालन गर्ने बताएको छ ।

पार्टी सचिव गोकर्ण विष्टको अध्यक्षतामा आइतबार बसेको बैठकले समयमै कोशी बाँधका ढोका नखोल्दा पूर्वी तराईमा विकराल समस्या उत्पन्न भएको भन्दै भारत सरकारसँग कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

बैठकले राज्यको सम्पूर्ण शक्ति पीडितको उद्धार, राहत तथा पुनः व्यवस्थापनमा लगाउन सरकारसमक्ष माग गरेको छ ।

प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार सप्तरीमा युवा संघ नेपाल र भूमिहीन सुकुम्वासी संगठन, सिरहामा अनेरास्ववियु, धनुषामा अखिल नेपाल महिला संघ, महोत्तरीमा लोकतान्त्रिक मधेसी संगठन र लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, सर्लाहीमा अखिल नेपाल किसान महासंघ, रौतहटमा नेपाल बुद्धिजीवी परिषद् र मानवअधिकार एलायन्स, बारामा खेलकुद महासंघ, पर्सामा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मा खटाइएको छ ।

यस्तै, सचिव भट्टराईले झापामा जनसांस्कृतिक महासंघ र मुक्ति समाज, मोरङमा पेसागत महासंघ नेपाल, सुनसरी उद्योग व्यवसायी महासंघ र प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन, बर्दिया भूपू सैनिक संगठन, बाँके मानवअधिकार एलायन्स र कपिलवस्तुमा मुस्मिल इत्तेहाद संगठन र लोकतान्त्रिक अपांग संघलाई खटाउने निर्णय भएको बताए ।

तपाइको मत