एसएलसी परीक्षा सुरु : प्रहरी हिरासतबाट परीक्षा दिँदै

१९ चैत, काठमाडौं ।  यस वर्ष ६ लाख १५ हजार ५ सय ५३ परीक्षार्थी सहभागी एसएलसी परीक्षा १८ गते बिहीबार बिहान ८ बजेदेखि सुरु भएको छ ।

slc

नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८१, एक्जाम्टेडतर्फ १ लाख ५९ हजार ४ सय १७ र प्राविधिकमा ३ हजार २ सय ५५ परीक्षार्थी रहेका छन् ।

नियमिततर्फ २ लाख २५ हजार २ सय ४६ छात्र र २ लाख २७ हजार ५ सय ३५ छात्रा रहेका छन् भने प्राविधिक एसएलसी तर्फ १ हजार ९ सय ८२ छात्र र १ हजार २ सय ७३ छात्रा छन् ।

प्रहरी हिरासतबाट एसएलसी परीक्षा दिँदै

यसैबिच ताप्लेजुङ नगरपालिका– १ का प्रकाश भुजेल र लोकनाथ गुरागाईं किनमेल गर्ने क्रममा ५०० रुपैयाँको नक्कली नोटसहित पक्राउ परेका दुई जना परीक्षार्थीले प्रहरीको हिरासतमा रहेर परीक्षा दिइरहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीका अनुसार अनुसन्धानका क्रममा रहेका ती परीक्षार्थीलाई थप अनुसन्धान गर्नुपर्ने भएकाले जिल्ला शिक्षा कार्यालयसितको समन्वयमा जिल्ला प्रहरी कार्यालयको हिरासतबाटै परीक्षा लेख्ने व्यवस्था मिलाइएको छ ।

बुबाछोरी दुवै जना परीक्षामा सहभागी

यसैगरी शिव शक्ति माध्यमिक विद्यालय कालागौँडीमा अध्ययनरत ४० वर्षीय गङ्गाराम राना र उनकी १७ वर्षीय छोरी उर्मिला रानाले राष्ट्रिय उच्च माध्यमिक विद्यालय पिपलाडीमा रहेको परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका छन् ।

केन्द्राध्यक्ष मोहनचन्द्र जोशीका अनुसार बुबाछोरी दुवै जना परीक्षामा सहभागी भएको पुष्टि गर्दै गङ्गारामले उच्च शिक्षा आर्जन गर्न चाहेकाले प्रवेशिका परीक्षामा सहभागी भएको बताए।

तपाइको मत