कमलादीस्थित डान्सबारमा गोली चलाउने पञ्जाव प्रहरी भएको खुलासा

 

१६ कार्तिक ०७४, काठमाडौं । कमलादीस्थित डान्सबारमा बुधबार साँझ गोली चलाउने भारतको पञ्जाव राज्यका प्रहरी भएको खुलासा भएको छ ।

बुधबार प्रहरीले पक्राउ गरेको जसवीर सिंह नाम गरेका युवाको साथमा पञ्जाव प्रहरीको परिचय पत्र भएको प्रहरीले खुलासा गरेको हो ।

४ बजेर ४५ मिनेटमा भएको गोलीकाण्डमा कमलपोखरी प्रहरी वृत्तबाट खटिएको प्रहरी टोलीले भारत लुधियाना घर भएका जसभिर सिंह र अमरेन्द्र सिंहलाई प्रहरीको विशेष ब्यूरोमा राखेर थप अनुसन्धान अगाडि बढाएको छ ।

उनीहरूको साथबाट एक थान ‘कम्पनी मेड’ पेस्तोल, त्यसमा लाग्ने ५१ राउन्ड गोली र चारवटा म्याग्जिन बरामद गरेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा युवती पाउनसक्ने प्रलोभनमा दलालमार्फत डान्सबारमा पुगेका ती भारतीयले आफूहरूलाई २२ हजारको बिल देखाएपछि स्थिति असामान्य भएको बताएका थिए । तर, डान्सबारका कर्मचारीले भने २२ सय रुपैयाँको मात्र बिल भएको बताएका छन् ।

कमलादीस्थित हेरिटेज प्लाजाको भुईंतलाको ‘खाल्डो’ डान्सबारमा बुधबार साँझ कोही नाचिरहेका थिए भने कोही युवतीसँग रमाउँदै थिए । तर, एउटा टेबलमा भने दुई जना ‘गेस्ट’ र डान्सबारका कर्मचारीबीच विवाद भइरहेको थियो । घम्साघम्सीको स्थिति बनेपछि भारतीय मूलका अन्दाजी ३५ र ४० वर्षका ती दुई जना उठेर हिँड्न खोजे तर डान्स बारका कर्मचारीले उनीहरूलाई घेरेर राखे ।

एकैछिनपछि दुईमध्येका एक ‘गेस्ट’ले पेस्तोल निकालेर फायर गरे । अन्दाजी ३५ वर्षका जसभिरले चलाएको गोली डान्सबारको प्रवेशद्वार नजिकै रहेको माथिल्लो कुनामा लागेको थियो ।

ती भारतीयलाई पिछा गरेका डान्स बारका एक कर्मचारीको सहयोगमा प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेका दुवै भारतीय पन्जाबको नम्बर प्लेट भएको पीबी १० एफएस ७४४९ नम्बर भीएक्सआई मोडलको स्विफ्ट गाडीमा मंगलबार साँझ सुनौली नाका हुँदै काठमाडौं आएर हिमालय दर्शन होटलमा बसेका थिए ।

प्रहरीले उनीहरूले भारतबाट ल्याएको स्विफ्ट गाडी पनि नियन्त्रणमा लिएको छ ।

तपाइको मत