२० माघ, काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री उपेन्द्र यादवसहितका मधेसी मोर्चाका नेताहरुको बिहार भ्रमण, लालुप्रसाद यादवको पटाङ्गिनीमा खिचिएको तस्वीर र बिहारी नेताहरुले मधेसमा १० लाख मानिस उतार्ने र मधेस आन्दोलनलाई सहयोग गर्ने भनी दिएको अभिव्यक्ति यतिबेला नेपाली राजनीतिमा गर्माएको छ । मोर्चाका नेताहरुले आफ्नो बिहार भ्रमणलाई ‘नेपाली राजनीतिको परम्परा’ भन्दै स्वाभाविक भएको बताएका छन् ।
दुईपटक भारत भ्रमण गरिसकेका उपप्रधान एवं परराष्ट्र मन्त्री कमल थापाले टि्वट गर्दै भनेका छन् कि- ‘यो तस्वीर देख्दा कुनै पनि नेपाली खुशी हुन सक्दैन ।’
उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मोर्चाका नेताको बिहार भ्रमण र हारगुहारलाई लज्जास्पद भनेका छन् । एमालेका झलनाथ खनाल लगायतका नेताहरुले पनि बिहारी नेताहरुको नेपालविरुद्धको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । माओवादी/पूर्वमाओवादी नेताहरु भने यो घटनाबारे अहिलेसम्म मौन देखिएका छन् ।
भारतको बिहारमा ‘राजनीतिक विहार’ गर्नु र त्यहाँका सत्तापक्ष, प्रतिपक्षका नेताहरुलाई भेटेर नेपालको संविधान र सरकारविरुद्ध आन्दोलनका लागि गुहार माग्नु स्वाभाविक भएको मोर्चाका नेताहरुको तर्क सञ्चार माध्यममार्फत सुनिएको छ ।विगतमा नेपालको राजनीतिक आन्दोलनका लागि भारतसँग गुहार माग्ने र नाकाबन्दीसम्म गर्न उक्साउने वा दिल्लीमा शरण लिने नीति राष्ट्रिय हितको पक्षमा थियो कि थिएन ? विदेशबाट आयात गरिएको लोकतन्त्र वा गणतन्त्र जायज तरिका थियो कि थिएन ? यो आफैंमा बहसको विषय बनिरहेका बेला मोर्चाका नेताहरुले उही परम्परालाई आफ्नो बचाऊ गर्ने तर्काधार बनाउन खोजेको देखिन्छ ।
कमसेकम राजेन्द्र महतोहरु बिहारतिर जानुको साटो अशोक राईको गृहजिल्लातिर समर्थन खोज्न हिँडेको भए मधेस आन्दोलनलाई भारतले उक्साएको ठान्नेहरु निरुत्साहित हुने थिए । अनलाइनखबरमा अरुण बरालको टिप्पणी छ ।