४ बैशाख ०७४, काठमाडौं । सरकारले ३ पटक समय दिँदा पनि करिब २ सय म्यानपावरहरुले आफूले विदेश पठाएका कामदारको विवरण लुकाएका छन् ।
आइतबार विवरण बुझाउने म्याद सकिँदा ६ सय ५१ म्यानपावरले कामदारको विवरण बुझाएको भए पनि २ सय म्यानपावरहरुले कामदारको विवरण पेश गर्न अटेरी गरेका हुन् ।
चैतको सुरुवातमा विदेश वैदेशिक रोजगार विभागले फ्री भिसा र टिकेटमा विदेश गएका कामदारको विवरण मागेको थियो । सुरुमा ७ दिन, पुनः ७ र तेस्रोपटक १० दिन समय दिएर विवरण मागिएको थियो ।
अहिले विभागमा झण्डै साढे ८ सय म्यानपावर दर्ता रहेको विभागका महानिर्देशक विश्वराज पाण्डेले जानकारी दिए ।
सरकारले ०७२ असार २१ गते यता फ्री भिसामा पठाएका कामदारको विवरण म्यानपावरहरुले ७ दिनभित्रै विभागमा पठाउन भनेको थियो ।
कामदारको विवरण, देश, कम्पनी, सेवा शुल्क बापत उठाएर बैंकमा जम्मा भएको रकम, विदेशी कम्पनीले टिकटबापत दिएको रकम र हवाइ टिकट र कादार पठाएको एयरलाइन्सको सबै विवरण मागेको छ ।
सरकारले ०७२ जेठमा मलेसियासहित ६ वटा खाडी मुलुकमा जाने कामदारलाई रोजगार दाताले नै निःशुल्क भिसा र टिकट दिनुपर्ने निर्णय गरेको थियो ।
वैदेशिक रोजगार ऐन बमोजिम सजाय
विभागले समय सीमा सकिएपनि अटेरी गर्नेविरुद्ध कारवाही गुर्न त कता हो कता ? विभागका महानिर्देशक पाण्डे म्यानपावरले कामदारको विवरण ल्याए अझै पनि दर्ता गर्ने बताएका छन् ।
‘अझै पनि लिएर आए हामी विवरण लिन्छौं’ महानिर्देशक पाण्डले भने,’म्यानपावरले तोकेको समयभित्र नल्याएपनि अहिलेसम्म कारवाहीको निर्णय भएको छैन ।’
तर, पाण्डेले विवरण नदिनेमाथि के गर्ने ? भनेर निर्णय नभए पनि वैदेशिक रोजगार ऐन बमोजिम सजाय गर्ने बताए ।