९ जेठ, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादी केन्द्रीय समिति बैठकले विभिन्न माओवादी घटकहरुसँग एकता बारेको छलफल र संवादहरु तत्कालका लागि बन्द गर्ने निर्णय गरेको छ ।
विभिन्न माओवादी घटकहरुबीच एकता भई माआवादी केन्द्र गठन गरिए पछि वैद्य–विप्लवले संयुक्त विज्ञप्ति जारी गरे पनि क्रान्तिकारी माओवादीले तत्काल एकता नगर्ने भएका छन् ।
क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य पिताम्बर आचार्यले दुई दिनसम्म बसेको केन्द्रीय समिति बैठकले एकताबारेको छलफल र संवाद बन्द गर्ने निर्णय गरेको जानकारी दिए । आचार्यले आगामी असार ६ र ७ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने बैठकले निर्णय गरेको बताए ।
१ सय ९९ सदस्यीय केन्द्रीय समितिमा बादल समूह एकतामा गएपछि बसेको बैठकमा ७२ जना केन्द्रीय सदस्य उपस्थित रहेका थिए ।