५ भदौ ०७४, कैलाली । कैलालीको खानीडाँडामा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । साथै, उक्त दुर्घटनामा परेर २१ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार धनगढीबाट डोटीको विपीनगर जाँदै गरेको कर्णाली रिभर यातायातको ना ४ ख ५६३५ नम्बरको बस आज दिउँसो १ बजेतिर चुरे गाउँपालिका वडा नम्बर ५ खानीडाँडामा दुर्घटनामा परेको हो ।
प्रहरी नायव उपरीक्षक बुढामगरका अनुसार मृतकहरुमा डोटी जोरायल गाउँपालिका-५ का ७० वर्षीय नर बहादुर देउवा र कैलाली जोशीपुर गाउँपालिका-५ की ४८ वर्षीया दुर्गा देवी मल्ल छन् । २१ जना घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको र १ जनालाई थप उपचारको लागि भारतको हल्द्वानी रिफर गरिएको छ ।
प्रहरीले बसमा २५ जना सवार रहेको र बस सडकबाट करिब १५० मिटर तल खसेको बताएको छ ।