२१ कार्तिक ०७४, काठमाडौं । गृह मन्त्रालयले उच्च तहका प्रहरी अधिकृतको बढुवा गर्ने तयारी गरेको छ ।
निर्वाचन आयोगसँग मन्त्रालयले तीन दिनअगाडि सहमति मागेको गृह मन्त्रालयलाई आयोगले सोमबार मन्त्रालयलाई दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी), पाँच प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), पाँच प्रहरी नायब उपरीक्षक (डीएसपी) र सात प्रहरी निरीक्षकलगायतको बढुवा गर्न सहमति दिएको छ।
निर्वाचन आचारसंहिता लागू भएका बेला चुनावको मुखमा प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले गृहका अधिकारीलाई दबाब दिँदै बढुवा गर्न आयोगसमक्ष सहमति माग्न लगाएका हुन् ।
गृहमन्त्रीको कार्यभारसमेत आफैं सम्हालेका देउवाले आफू निकटका दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई एआईजी बनाउने तयारी गरेका छन् ।
निर्वाचन आयोगको कानुन महाशाखाका प्रमुख सहसचिव गीता तिम्सिनाले गृहबाट माग भएअनुसार सहमति पठाइएको जानकारी दिइन् ।
‘गृहले रिक्त ठाउँमा बढुवा गर्न सहमति मागेको थियो’ तिम्सिनाले भनिन्, ‘हामीले खाली ठाउँमा बढुवा रोक्न आचारसंहिता नलाग्ने देखेपछि सहमति दिएका हौं ।’













