२४ साउन ०७४, काठमाडौं । चीन-भारत सीमा क्षेत्रको तनावमा नेपालले पूर्णरूपमा तटस्थ रहने रणनीति लिएको छ ।
चीन-भारतबीच सन् १९६२ मा सीमायुद्ध हुँदा पनि नेपाल तटस्थ बसेको थियो । अहिले पनि दुई छिमेकी बीचको तनावमा सोही रणनीति अख्तियार गरेको छ । चीन, भुटान र भारतबीच डोक्लाम क्षेत्रमा देखिएको तनावमा नेपालले कुनै पक्षको समर्थन गरेको छैन । भारत र चीनबीचको सीमा विवाद शान्तिपूर्ण रूपमा समाधान होस् भन्ने पक्षमा नेपाल रहेको उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले बताएको अन्नपूर्ण पोष्टमा खबर छ ।
‘डोक्लाममा देखापरेको चीन-भारत सीमा विवादमा नेपालको स्पष्ट नीति छ । यो विषय शान्तिपूर्ण कूटनीतिक तरिकाले वार्ताको माध्यमबाट समाधान होस् भन्ने चाहन्छौं । नेपालको दृष्टिकोण यही हो’, महराले सोमबार मन्त्रालयमा पत्रकारसँग भने ।
उनका अनुसार भारतीय वा चिनियाँ उच्चाधिकारी नेपाल आउँदा वा नेपालका उच्च पदाधिकारी भारत या चीन जाँदा डोक्लाम तनावबारे कुराकानी नगर्ने नीति सरकारले लिएको छ ।
‘प्रधानमन्त्रीको ७ भदौदेखि ११ गतेसम्मको भारत भ्रमणमा डोक्लाम मुद्दामा छलफल हुँदैन । त्यस्तै, चिनियाँ उपप्रधानमन्त्री यहाँ आउँदा पनि त्यसबारे हामी कुरा गर्दैनौँ । यो विवादमा हामी कसैको पक्ष लिँदैनौँ’, महराले भने ।
भारत र चीनले डोक्लाम मुद्दामा नेपालको समर्थन खोज्न सक्ने आशंका व्याप्त रहेका बेला मन्त्री महराले भने, ‘हामीलाई भारत र चीनले आफ्नो पक्षमा तान्न खोजेको भन्ने कुरा गलत हो । भारत र चीन दुवैले हामीलाई आफ्नो पक्षमा आउन दबाब दिएका छैनन् ।’