१७ पुस, काठमाडौं । नेपाल टेलिकमले आजबाट एनटीसीको पोष्टपेडमा फोर जी इन्टरनेट सेवा बिस्तार गरेको छ ।
आइतबार आयोजित कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले फोर जी सेवाको सुभारम्भ गरेका हुन् ।
मोवाइलमा 4G चल्छ कि चल्दैन कसरी जान्ने ?
मोवाइलमा 4G चल्छ कि चल्दैन जान्नको लागि मोवाइल फोनको नेटवर्क सेटिङमा गई फोनले कुन-कुन प्रविधिमा काम गर्छ हेर्न सकिन्छ । उपलब्ध बिकल्पमध्ये 4G/LTE रहे, नरहेको यकिन गरी नेपाल टेलिकमको नेकवर्कमा 4G/LTE सेवा सुचारु गर्नका लागि मोबाइलले १८०० मेगाहर्ज ब्याण्डमा काम गर्छ भन्ने सुनिश्चित गर्न फोनको स्पेसिफिकेसन हेर्न सकिन्छ ।
सिममा 4G चल्छ कि चल्दैन ?
तपाईंले आफ्नो मोबाइलबाट * ४४४# हृयास डायल गरी प्राप्त निर्देशन अनुसार सिम परिक्षण गर्न तथा 4G सेवा सुचारु गर्न सक्नुहुन्छ ।
4G चल्ने सिम कसरी पाउने ?
*४४४# डायल गर्दा यदि तपाईले हाल चलाइरहनु भएको टेलिकमको सिममा 4G नचल्ने रहेछ भनेर अपग्रेड गर्नुपर्छ भनेर सन्देश आउँछ ।
यदि अपग्रेड गर्नुस् भन्ने सन्देश आएमा काठमाडौं उपत्यकामा दूरसञ्चारका कार्यालयहरु चावहिल, हात्तीगौंडा, गोंगवु, सुन्धारा, छाउनी, बबरमहल, जावलाखेल, साझा भवन, ठिमी र भक्तपुर तथा पोखरामा दूरसञ्चार कार्यालय महेन्द्रपुलबाट नियमित प्रक्रियामार्फत फोर जी चल्ने यु-सिम प्राप्त गर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।
शुल्क
4G सेवा सुरु गर्न कुनै शुल्क लाग्दैन ।
कुन APN प्रयोग गर्ने ?
4G सेवाको लागि प्रयोगमा आएको ntnet वा ntwap मध्ये कुनै एक APN तपाईंको मोवाइलमा प्रयोग गर्न सकिन्छ ।
महंगो होला कि ?
3G भन्दा धेरै गुणा फास्ट हुने भएकाले महंगो होला कि भन्ने हुनसक्छ । तर, फोर जी सेवा 3G सेवाकै दरमा उपलब्ध गराइने टेलिकमले जनाएको छ ।
हालको डाटा प्याकेज के हुन्छ ?
टेलिकमका अनुसार हाल भएको डाटा प्याकेज सेवा अवधिभर उपयोग गर्न सकिने टेलिकमले जनाएको छ । साथै 4G सेवा सुरु भइसक्यो र नेटवर्क कभरेज क्षेत्रमा हुनुहुन्छ भने 4G को स्पिडमै पुरानै प्याकेज उपयोग गर्न सकिनेछ ।
साथै 4G सेवा सम्वन्धी कुनै जिज्ञासा भएमा ग्राहक सेवा केन्द्रको नम्बर १४९८ मा सम्पर्क गरेर पनि बुझ्न सकिने नेपाल टेलिकमले जनाएको छ ।