११ भदौ ०७४, काठमाडौं । नेपाल खाद्य संस्थानले तराई–मधेशका बाढीपीडितलाई पठाउन तयारी अवस्थामा राखेको सिमीमा झण्डै एक किलोसम्मका ढुंगा, माटो र बालुवाको मिसावट भेटिएको छ ।
आपूर्ति मन्त्री शिवकुमार मण्डलसमेतको संलग्नतामा आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले खाद्य संस्थानको काठमाडौंको माइतीघर मण्डलामा रहेको सदर धान गोदाममा अनुगमन गर्दा यस्तो भेटिएको हो ।
बाढीपीडितलाई राहतस्वरुप पठाउन लागिएको उक्त सिमी गुणस्तरहीनसमेत भेटिएको छ । त्यही सिमीमध्ये ४० किलो बाढीपीडितलाई पठाइसकिएको छ ।
बाढीपीडितलाई थप पठाउन लागिएको खाद्य बस्तुमा अखाद्य पदार्थ रहेको सूचनाको आधारमा मन्त्रालयले अनुगमन गर्दा फापर, उवा र चामलमा समेत प्रशस्तै कैफियत देखिएको छ ।
संस्थानले राहतका लागि मौज्दातमा राखेको ७ सय २० क्विन्टल सिमी परीक्षण गर्दा उक्त सिमी प्याक गरेको बोरामा ढुंगा, माटो, बालुवा, चाउचाउका टुक्रा लगायत भेटिएको थियो ।
संस्थानमा दुई वर्षभन्दा पुरानो चामल समेत भण्डारण गरेर राखिएको छ । २०७२ सालको भूकम्पका समयमा बंगलादेश सरकारले दिएको १० हजार क्विन्टल चामल अझै पनि संस्थानको गोदाममा थन्किएको छ । त्यस्तै, फापर र सिमी पनि संस्थानले दुई वर्षअघि नै खरिद गरेको थियो ।
संस्थानको उक्त सदर गोदाममा झण्डै ४१ हजार क्विन्टल खाद्य बस्तु सञ्चय छ ।
आपूर्तिमन्त्री मण्डलले खाद्यान्न कारोबार र भण्डारणमा खाद्य संस्थानले चरम लापरवाही गरेको बताए । उनले लापरवाहीमा संलग्नमाथि कडा कारवाही गर्ने बताएका छन् ।
अघिल्ला कार्यकालका पदाधिकारीको लापरवाही !
तीन महिनाअघिमात्र सदर धान गोदाम प्रमुखको नियुक्ती पाएका भेषनाथ न्यौपानेले आफू केही समयअघिमात्र नियुक्त भएको र कैफियत देखिनुमा अघिल्ला कार्यकालका पदाधिकारी जिम्मेवार रहेको बताए ।
‘सिमी, फापर र उवाको खरिदको कागजात अझैसम्म पनि मैले फेला पार्न सकेको छैन,’ उनले भने, ‘सम्बन्धित पदाधिकारी र ठेकेदार मिलेर गुणस्तरहीन खाद्य बस्तु खरिद गरेको देखियो ।’ यस सम्बन्धमा विस्तृत छानविन गरिने उनले बताए ।
गुणस्तरहीन सिमी र फापर खरिद गर्दा खाद्य संस्थानको महाप्रवन्धकमा शिवहरी श्रेष्ठ र सदर धान गोदामका प्रमुख मोहनप्रकाश चन्दले पनि अवकाश पाइसकेका छन् । तर, उनीहरूमाथि पनि छानविन गरिने आपूर्ति विभागका महानिर्देशक कुमार दाहालले बताए ।