३१ साउन ०७४, काठमाडौं । भूकम्पपछि बन्द रहेको तातोपानी नाका खुलाउने योजना अनुसार चीनले अरनिको राजमार्ग स्तरोन्नति सहितका परियोजनामा खर्च गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
भूकम्पपछिको पुननिर्माणका लागि चीनले घोषणा गरेको ३ अर्ब आरएमवी मध्ये एक अर्ब सन् २०१६ मा खर्च भएको थियो भने सन् २०१७ मा १ अर्ब खर्च हुनेछ । बाँकी १ अर्ब सन् २०१८ मा खर्च गर्ने गरी अर्को समझदारी हुनेछ ।
नेपालका तर्फबाट अर्थसचिव शान्तराज सुवेदी र चिनियाँ वाणिज्य उपमन्त्री यु जियाङहुवाले सम्झौता-समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । तीन समझदारीपत्र मध्ये आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी एउटा हो।
सो अवसरमा उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार, उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा तथा नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङको उपस्थिति थियो ।
सम्झौता-समझदारी पत्रमा पेट्रोलियम, ग्यास र खानीको अन्वेषणका लागि चीनले सर्वेक्षण गर्न २ अर्ब नेपाली रुपैयाँ चिनियाँ सहयोग प्राप्त हुने अर्थसचिव सुवेदीले जानकारी दिए ।