त्रिवि सभाबाट १९ अर्ब ३१ करोड बजेट पारित, बेरुजु १३ अर्ब ८ करोड बढी

२ भदौ ०७४, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको त्रिवि सभाले आव ०७४/७५ का लागि १९ अर्ब ३१ करोड सात लाख ५८ हजार रुपैयाँको बजेट पारित गरेको छ ।

प्रधानमन्त्री एवं त्रिवि कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले पुनर्निर्माण बाहेकको १९ अर्बभन्दा बढीको बजेट पारित गरेको हो ।

अघिल्लो वर्ष पुनर्निर्माणसहित १८ अर्बको बजेट विनियोजन भएको थियो । नियमित कार्यक्रमतर्फ १० अर्ब ८२ करोड ५० लाख २२ हजार रुपैयाँ रहेको छ । त्यसैगरी, पुँजीगत खर्च आठ अर्ब पाँच करोड ७२ लाख ३६ हजार र विकास कार्यक्रममा ४२ करोड ८५ लाख रुपैयाँ रहेको छ ।

बेरुजु १३ अर्ब ८ करोड बढी
तथापि, त्रिभुवन विश्वविद्यालयको बेरुजु १३ अर्ब ८ करोड ३९ लाख ३३ हजार पुगेको छ ।
त्रिविमा पञ्चायतकालदेखिको बजेट फस्र्योट नहुँदा आर्थिक वर्ष ०७३/७४ सम्ममा १३ अर्बभन्दा बढी बेरुजु देखिएको हो ।

त्रिविले बेरुजु फस्र्योटलाई प्राथमिकमा राखेर यस्ता काममा सक्रिय हुने कर्मचारीलाई पुरस्कारको समेत व्यवस्था गरेको छ ।

त्रिविका रजिस्ट्रार डिल्लीराम उप्रेतीका अनुसार बेरुजु फस्र्योट गर्ने कर्मचारीलाई प्रोत्साहन गरी आर्थिक एकाइलाई कारोबार रकमका आधारमा पाँच हजारदेखि १० हजार रुपैयाँसम्म पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको छ ।

त्रिविले बेरुजु फस्र्योटलाई प्राथमिकता दिए पनि आव ०७३/७४ सम्मको बेरुजुको रकम ३ अर्ब आठ करोड रुपैयाँभन्दा बढी पुगेको हो ।

विद्यार्थीलाई खुवाउने गरेको खानाको विषयमा समेत बेरुजु
त्रिविमा पञ्चायतकालदेखिको बेरुजु रहेको त्रिविका आर्थिक प्रमुख कुमार हुमागाईंले बताए । पञ्चायतकालमा अध्ययन संस्थानहरूले विभिन्न प्रोजेक्ट ल्याएर काम गरेको, तर त्यसको रेकर्डसमेत पाउन कठिन भएको उनले बताए ।

पञ्चायतकालमा विद्यार्थीलाई खुवाउने गरेको खानाको विषयमा समेत बेरुजु देखिएको छ । हुमागाईंले यो आर्थिक वर्षमा बेरुजु फस्र्योटको वर्षका रूपमा मनाउने बताए ।

‘कसरी हुन्छ हामी बेरुजु फस्र्योट गर्ने तयारीमा छौँ,’ उनले भने । अधिकांश बेरुजु सैद्धान्तिक रहेको, केही असुलउपर गर्नुपर्ने र केही पेस्की लगेको रकममा बेरुजु रहेको हुमागाईंको भनाइ छ । त्रिविले इकाइगत बेरुजु फस्र्योटलाई समेत अघि बढाएको छ ।

कहिले कति भयो बेरुजु फस्र्योट ?
केही वर्षयता त्रिविले बेरुजु फस्र्योटको प्रयास गरेको छ । बेरुजु फस्र्योट तथा अनुगमन समितिको तथ्यांकअनुसार आव ०७२(७३ मा कुल १२ अर्ब ५७ करोज ३० लाख ५० हजार रुपैयाँ बेरुजु रहेको थियो ।

गत आवमा एक अर्ब ५९ करोड ३० लाख ५८ हजार फस्र्योट भएको थियो । सो आवसम्मको बाँकी १० अर्ब ५७ करोड ९९ लाख ९२ हजार रहेकामा ४३ करोड ८७ लाख ९१ हजार संपरीक्षणका क्रममा रहेको त्रिविले जनाएको छ ।

०७३/७४ मा पुनः बेरुजु दुई अर्ब १० करोड ३९ लाख ४१ हजार थप भई १३ अर्ब ८ करोड ३९ लाख ३३ हजार रुपैयाँ पुगेको हो । त्रिविले आव ०७२/७३ मा पेस्की फस्र्योटतर्फ २७ करोड तीन लाख ४७ हजार दुई सय २८ रुपैयाँ असुलउपर गरेको थियो ।

त्रिविले अब बेरुजु र पेस्कीको मात्रा न्यून गर्नेसमेत जनाएको नयाँ पत्रिका दैनिकमा खबर छ ।

तपाइको मत