एजेन्सी/ शनिबार दक्षिण कोरियाको भूमिमा उत्तर कोरियाले लामो दुरीको हतियारबाट गोलाबारी गरेको छ । दक्षिण कोरियाका प्रवक्ताले उत्तर कोरियाबाट आक्रमण भएको पुष्टि गर्दै यो गोलाबारी सैन्य अभ्यासका क्रममा भएको हुनसक्ने बताएका छन् ।
एक महिनाको बीचमा उत्तर कोरियाले पहिले हाइड्रोजन बम परीक्षण गरे लगत्तै उत्तरले मिसाइल परीक्षण गरेपछि दुबै देशबीच तनाव बढ्दै गएको छ । केही दिनअघि दक्षिण कोरियाले अमेरिकी सेनासँग प्रत्येक वर्ष हुने संयुक्त सैन्य अभ्यास गर्ने फैसला गरेको थियो । दक्षिणले अमेरिकासँग मिलेर सैन्य अभ्यास गर्ने ठूलो फैसला गरेपछि यी दुई देशबीचको तनाव झनै बढेको छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयका प्रवक्ताले एएफपीलाई बताए अनुसार एलो सागरमा विवादित समुद्री सीमानजिकै शनिबार दक्षिणमाथि गोलाबारी गरेको हो ।
रकेट समुद्री सीमाको उत्तरी भागमा खसेको देखिएको छ, तर कुनै नोक्सान भने नभएको बताइएको छ । योनहाप समाचार एजेन्सीका अनुसार उत्तर कोरियाला रकेट प्रहार गरेपछि येओनपेयोङ्ग द्वीपका बासिन्दा त्रसित भएका छन् । उनीहरु त्यहाँबाट सुरक्षित स्थानमा सर्न बाध्य भएका छन् । यता उत्तरबाट आक्रमण सुरू भएपछि दक्षिण कोरिया पनि कडा प्रतिवादको तयारी गरेको बताइएको छ ।