१७ साउन ०७४, काठमाडौं । मलेसियन एयरलाइन्सबाट अवैध ढंगले दुई किलो सुन लिएर आएका दुई अभियुक्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको शौचालयबाट पक्राउ परेका छन् ।
नवलपरासी घर भई पोखरा बस्ने लेखबहादुर रिजाली र कास्कीकी पार्वती गुरुङलाई शौचालयभित्र सुन लुकाउने क्रममा प्रहरीले सोमबार सुनसहित पक्राउ गरेको हो ।
विमानस्थल प्रहरी प्रमुख डीआईजी पंकज श्रेष्ठकाअनुसार अवैध ढंगले सुन ल्याउँदै गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।
‘मलेसियन एयरलाइन्स अवतरण हुने बित्तिकै ट्र्याकिङ गरी उनीहरूको पहिचान ग¥यौं’, डीआईजी श्रेष्ठले भने, ‘रिजालीले शौचालयभित्र शंकास्पद गतिविधि गर्न थाले र सुन लुकाउने क्रममा हामीले दुवै जनालाई पक्राउ गरेर अनुसन्धान थालेका छौं ।’
रिजालीले डराएको अवस्थामा शौचालयभित्र पस्दै-निस्कँदै गर्दै अस्वाभाविक व्यवहार देखाउन थालेपछि प्रहरीले उनीमाथि निगरानी बढाएको थियो ।
रिजाली र गुरुङ दर्जनभन्दा बढी पटक सिंगापुर, मलेसिया, थाइल्यान्ड घुमेको पाइएको छ । उनीहरू सुन तस्करको संगठित अपराधमा संलग्न भएको हुन सक्ने प्रहरीको अनुमान छ । विमानस्थलमै कार्यरत कुनै कर्मचारीमार्फत सुन बाहिर ल्याउने उनीहरूको योजना विफल भएको खुलेको छ । सुन बाहिर ल्याउन केही कर्मचारी लागिपरेको हुनसक्ने स्रोतले जनाएको छ । उनीहरूले उक्त सुन सिंगापुरमा खरिद गरेर मलेसिया हुँदै काठमाडौं ल्याएका हुन् ।
विमानस्थलमा सुन लिन केही एजेन्ट गएकोमा ल्याउने व्यक्ति नै पक्राउ परेपछि उनीहरू बाहिरबाटै फर्किएको हुन सक्ने प्रहरीको आंशका छ ।