१ असार, काठमाडौं । नयाँ शक्ति नेपालको विधान बनाउने क्रममा बन्द छलफलमा सांसद बन्न स्नातक पास हुनुपर्ने वाध्यकारी प्रावधान आएपछि छलफलमा चर्काचर्की परेसँगै विधान संशोधन समितिले उक्त प्रस्ताव फिर्ता लिएको छ ।
विधान संशोधन समितिको गल्तीका कारण विधानमा यो व्यवस्था समावेश हुन गएको भन्दै उक्त प्रस्ताव फिर्ता लिएको विधान समिति सम्वद्ध स्रोतले बताएको छ ।
स्रोतकाअनुसार प्रारम्भिक मस्यौदामा समावेश भएको स्नातक पासको प्रावधान आत्मालोचना पछि हटाइएको भए पनि छापिँदा पुरानै मस्यौदा छापिएर आएको थियो । छापिएको मस्यौदामा राष्ट्रिय सम्मेलनबाट अध्यक्षसहित ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने व्यवस्था उल्लेख गरिएको थियो ।
नयाँ शक्तिले आन्तरिक किचलो भएपछि केन्द्रीय कमिटी नबनाई अन्तरिम केन्द्रीय परिषदलाई नै निरन्तरता दिने निर्णय गरेको छ ।
सरकारमा गएपछि मुलुकलाई समृद्ध बनाउने डा. भट्टराईको प्रतिबद्धता
नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले पार्टी कार्यालय बबरमहलमा बुधबार पार्टी निकट प्रवासी संगठनका प्रतिनिधिहरुसँग नयाँ शक्तिले सुरुमा प्रचारात्मक र नमूना काम गर्ने र सरकारमा गएपछि आफ्ना योजनाहरु लागू गरेर मुलुकलाई समृद्ध बनाउने बताएका छन् ।
भट्टराईले नयाँ शक्ति तन, मन र धनले नै विकास र समृद्धिमा समर्पित हुने जानकारी दिँदै नमूना कामको तयारीमा जुटिरहेकाले जनतामा आशा र विश्वासको सञ्चार गर्ने दाबी समेत गरे ।