नयाँ सरकार गठनअघि नै पार्टी एकता – प्रचण्ड

भूगोल, जनसंख्या र अनुकूलताको अध्ययन गरेर प्रदेश राजधानी !

२१ पुस ०७४, चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूगोल, जनसंख्या र अनुकूलताको अध्ययन गरेर प्रदेशको राजधानी तोक्नु पर्ने बताएका छन् ।

शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले प्रदेश राजधानी सरकारले अध्ययन गरेर मात्र तोक्नु पर्नेमा बताए ।

उनले प्रमुख दलसँग सहमति नगरी प्रादेशिक राजधानी र प्रदेश प्रमुखको नियुक्ति गरिए नयाँ सरकारले उल्ट्याउने चेतावनी दिएका छन् ।

‘अहिले तोक्ने भनेको अस्थाई केन्द्र मात्र हो , अन्तिम निर्णय प्रदेश सभाको बैठकले गर्छ’, उनले भने, ‘सरकारले अध्ययन गरेर ठीक तोके समर्थन हुन्छ, नत्र प्रदेश सभाले निर्णय गर्छ ।’

नयाँ सरकार गठनअघि नै पार्टी एकता

अध्यक्ष प्रचण्डले नयाँ सरकार गठनअघि नै पार्टी एकता हुने बताएका छन् ।

उनले नेतृत्व तहमा सकारात्मक छलफल भइरहेकाले पार्टी एकताको विषयमा जथाभावी नबोल्न नेता कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् ।

उनले प्रधानमन्त्री र पार्टी अध्यक्षको जिम्मेवारी बारे विवाद नरहेकाे भन्दै समृद्धि, विकास र राष्ट्रिय एकताको विषयमा दुबै पार्टीका अध्यक्षलाई उचित भूमिका दिइने विषयमा सहमति भएको बताए ।

उनले अध्यादेशको गाँठो फुकेसँगै राष्ट्रिय सभा निर्वाचनसँगै नयाँ सरकार गठनका लागि समेत बाटाे खुलेकाे बताए ।

तपाइको मत