२० कार्तिक ०७४, काठमाडौं । मन्त्रिपरिषद बैठकले तराई-मधेसका बाढी प्रभावितलाई राहतको विशेष प्याकेजको तयारी गर्न अर्थ मन्त्रालयलाई जिम्मा दिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको संघारमा तराई-मधेसका बाढी प्रभावित क्षेत्रलाई विशेष राहत प्याकेज ल्याउने निर्णय गरेको हो ।
‘बाढी पीडितका लागि विशेष राहत प्याकेजको तयारी गर्न अर्थ मन्त्रालयलाई जिम्मा दिइएको छ’ प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले भने, ‘यो प्याकेज एक-दुई दिनमा सार्वजनिक हुन्छ ।’
यसैगरी मन्त्रिपरिषद बैठकले मलेसियाको राजदूतमा निरन्जनमान बस्नेतलाई अर्को व्यवस्था नभएसम्म निरन्तरता निर्णय गरेको छ । साथै, रक्षा सचिवमा विनोद केसीको सरुवा गरेको छ ।
सरकारले ग्रामिण कृषि सडक निर्माणका लागि अमेरिकाले दिने १ सय मिलियन डलर सहयोग लिने विषयका लागि वार्ता समिति गठन गरेको छ ।