नेचा-सल्यानमा निर्वाचन आयोगका कर्मचारी मतदाता अाउने बाटाे हेरेर दङ्ग

११ असार ०७४, सोलुखुम्बु । ‘नो भोट, नो क्यान्डिडेट’ अभियान चलाएका सोलुखुम्बुको नेचा-सल्यान गाउँपालिका ६ का मतदाताहरू अाज मतदाता परिचय पत्र लिन गएनन् ।

निर्वाचन आयोगका कर्मचारी बिहानैदेखि दिनभर गाउँलेको बाटो कुरेर बसे तर एकजना मतदाता पनि आफ्नो परिचयपत्र लिन अाएनन् ।

पाँच मतदान केन्द्र रहेको नेचा-सल्यान गाउँपालिका ६ मा कसैले मतदाता परिचय नलिएको मतदान अधिकृत नारायण तामाङले बताए ।

‘हामी बिहान ७ बजेदेखि तयारी अवस्थामा छौं, एकै जना पनि नआएपछि वितरण भएको छैन,’ सिंहकाली माध्यमिक विद्यालय केन्द्रका मतदान अधिकृत तामाङले भने ।

सिंहकाली आधारभूत विद्यालयको केन्द्रमा पनि परिचय पत्र लिन कोही पनि नआएको मतदान अधिकृत सिताकुमारी भण्डारीले बताइन् ।

मतदाताहरु परिचय पत्र लिन नआएपछि निर्वाचनमा खटिएका कर्मचारीहरु घाम तापेर दिन काट्न बाध्य छन् ।

राज्य पुनर्संरचना आयोगको सिमाङ्कनप्रति असन्तुष्टि जनाउँदै निरन्तर आन्दोलनमा रहेका तिङलाबासी यतिखेर ‘नो भोट, नो क्यान्डिडेड’ को आन्दोलनमा छन् । नेचासल्यान गाउँपालिकाको वडा नम्बर ६ बाट एकै जना पनि उम्मेदवार छैनन् ।

उनीहरुले सदरमुकाम दुधकुण्ड नगरपालिकामा रहन चाहे पनि कांग्रेस नेता बलवहादुर केसीको दबाबमा नेचा सल्यानमा राखियो ।

उम्मेदवारी मनोनयनका दिन आफ्ना कार्यकर्ता टंकवहादुर कार्कीलाई लिएर गएका केसीलाई स्थानीयले घेरा हालेर भगाएका थिए ।

१२० मतदान केन्द्र रहेको सोलुखुम्बुको अन्य मतदान केन्द्रहरुमा भने शान्तिपूर्ण रुपमा मतदाता परिचय पत्र वितरण भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

तपाइको मत