नेताहरु आफूलाई शासक र जनतालाई कमारो ठान्दछन् – अख्तियार प्रमुख कार्की

३० बैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा मुलुक सञ्चालनमा कमारो प्रवृत्ति मौलाएको उल्लेख गर्दै नेताहरुमा आफूलाई शासक र जनतालाई कमारो ठान्ने प्रवृत्ति देखिएको बताएका छन् ।

कार्कीले लोकतन्त्रमा नेता र जनता सबै बराबर हुने भन्दै नेतालाई छानबिनको दायरामा ल्याउँदा दलहरुबाट विरोध हुनु आपत्तिजनक भएको बताएका छन् । उनले अख्तियारको छानविन चित्त नबुझे अकुत सम्पति आर्जन गर्नेलाई कसैले पनि कारवाही गर्न नसक्ने कानून बनाएर देखाउन नेताहरुलाई चुनौति दिए ।

अख्तियारले केही समय पहिले राजनीतिक दलका नेताहरुलाई अकुत सम्पति आर्जनको अभियोगमा छानविनका लागि पत्र काटेको थियो । अख्तियारले पत्र काटेपछि  कतिपय नेताहरुले महाअभियोग लगाएर अख्तियार प्रमुख कार्कीलाई हटाउनुपर्ने बताएका थिए ।

लोकतन्त्र प्राप्त भएपनि आम जनताले त्यसको महसुश गर्न नपाएको बरु जनतालाई आश्वासनको पोको बाँडेर नवसामन्तयुगका केही नाइकेले देशमा लुटतन्त्र मच्चाइरहेको कार्कीको भनाइ थियो ।

तपाइको मत