नेपालका कम्युनिष्टहरु सर्वहाराको मुखुण्डो ओढेका रोयलिष्ट – उपेन्द्र यादव

Upendra-Yadav-1

२९ फागुन, राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालका कम्युनिष्टहरुलाई सर्वहाराको मुखुण्डो ओढेका रोयलिष्टको संज्ञा दिएका छन् ।

आइतबार संघीय प्रेस फोरमले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता यादवले नेपालका कम्युनिष्टहरुलाई सर्वहाराको मुखुण्डो ओढेका रोयलिष्टको संज्ञा दिदै कम्युनिष्ट नेतृत्वकै कारण मुलुकमा सर्वहाराको भविष्य संकटमा परेको दावी गरेका हुन् ।

उनले सरकारमा रहेका कम्युष्टिहरुमार्फत् आएको वर्तमान निर्वाचन प्रणाली र संरचनाले सर्वहारा वर्गको चुनाव लडन सक्ने सामथ्र्य समाप्त भएको जिकिर गरे ।

सञ्चारकर्मीहरुले राखेको जिज्ञासाका क्रममा राजनैतिक शिष्टाचार पूरा गर्न सरकारलाई सात दिनको अल्टिमेटम दिइएको बताउँदै गठवन्धनको निर्णयअनुसार सात दिनसम्म पनि माग पूरा नभए आठौं दिन स्वतः सरकारलाई दिएको समर्थन फिर्ता हुने जानकारी पनि दिए ।

एक दुई दिनभित्रै आन्दोलनका कार्यक्रम घोषणा हुने :चुनाव हुन नदिने

अध्यक्ष यादवले सप्तरी घटनाको विरोध र संविधान संशोधनको विषयलाई लिएर गठवन्धनको बैठक बसेर एक दुई दिन भित्रै  देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा हुने बताएका छन् ।

उनले अबको आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक हुने भन्दै राज्यले लिने नीतिले आन्दोलनको स्वरुप निर्धारण गर्ने बताए ।

नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा फागुन २३ गते भएको झडपमा मृत्यु भएकाहरुको शव यात्रा र श्रद्धाञ्जलीमा सहभागी हुन राजविराज आएका यादवले सरकारले सप्तरीमा आफैँ गोली चलाएर ५ जनाको हत्या गरेको र कञ्चनपुरमा आफ्नै जनतालाई गोली हान्दा समेत सुरक्षा गर्न नसकेको उनको भनाई थियो ।

सप्तरीमा भएको घटना गृहमन्त्री विमलेन्द्र निधीले भनेझैँ दोहोरो झडप तथा एमालेले भनेझैँ सामुहिक हत्याको षडयन्त्र नभई राज्यको नष्लवादी चिन्तनको प्रतिविम्व भएको यादवले आरोप समेत लगाए ।

सप्तरी घटना सिंगो मधेशी जनतामाथिको प्रहार

उनले उक्त घटना सप्तरी वा मलेठका जनता मात्र नभई सिंगो मधेशी जनतामाथिको प्रहार भएको भन्दै समयमा यसको जवाफ पनि मिल्ने प्रतिक्रिया दिए ।

भारतीय प्रहरीको गोली लागि कञ्चनपुरको पुनर्वास नगरपालिकामा गोविन्द गौतम मारिएको घटनाका विषयमा बोल्दै यादवले भारतीय प्रहरीका तर्फाबाट गोली नचलाइएको प्रतिक्रिया आएपछि त्यसको निस्पक्ष छानविन गरी यथार्थ जवाफ सरकारले दिनुपर्ने माग पनि गरे ।

उनले भने, ‘सरकार जनताको सुरक्षा गर्न असमर्थ छ भन्ने पुष्टि भएको छ, यसको छानविन गरी उत्तर दिनुपर्छ ।’

संघीय लोकतान्त्रिक गठबन्धनले चुनाव हुन नदिने

यादवले जबरजस्ती गर्न लागिएको स्थानीय निकायको चुनाव संघीय लोकतान्त्रिक गठबन्धनले हुन नदिने जिकिर गरे ।

आफूहरु चुनाव विरोधी नरहेको बताएका उनले पहिला संविधान सच्याउन र मधेशी, जनजाति, आदिवासी र अल्पसंख्यकहरुको माग पूरा गर्न आग्रह गरे । संविधान नसच्याई हाल चर्चामा ल्याइएको चुनाव संघीय गणतन्त्र समाप्त पार्ने र मुलुकलाई उल्टो दिशामा लैजाने प्रयास भएको उनको प्रतिक्रिया छ ।

अघिल्लो दिन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्ने तयारी गरे पनि तमलोपा, रामसपा, तमसपालगायतका मधेशवादी दलका अध्यक्षहरु आउन नसकेका कारण अन्तिम समयमा यादव र सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बेग्ला बेग्लै पत्रकार सम्मेलन गरेका थिए ।

 

 

तपाइको मत