एजेन्सी– सत्तारुढ भारतीय जनता पार्टीले विवादास्पद अभिव्यक्ति दिएको आरोपमा आफ्ना सांसद् कीर्ति आजादलाई निलम्बन गरेको छ ।
केन्द्रीय अर्थमन्त्री अरुण जेटलीविरुद्ध उनले तल्लो स्तरको शब्द प्रयोग गरी सार्वजनिक रुपमा गाली गलौज गरेका थिए ।
अर्थमन्त्री जेटली दिल्ली क्रिकेट विकास बोर्डको अध्यक्ष रहेका बेला नक्कली कम्पनी खडा गरी रकम मुक्तानी गरेर भ्रष्टाचार गरेको आरोप आजादको थियो । भाजपाभित्र उनको अभिव्यक्तिको चर्को विरोध भएको थियो ।
भाजपा प्रवक्ता शाहनवाज हुसैनले आजादलाई निलम्बन गरिएको पुष्टि गरेका छन् । केही समयअघि मात्र आदाजले नेपालको सार्वभौमिकताविरुद्ध अभिव्यक्ति दिएका थिए ।
तराईका २२ जिल्ला भारतले बल प्रयोगमार्फत खोजेर लिनुपर्ने उनको अभिव्यक्तिको नेपाल र भारतमा समेत विरोध भएको थियो ।