१४ असार ०७५, काठमाडौं । नेपाल वायुसेवा निगमको राष्ट्रिय ध्वजवाहक पहिलो वाइड बडी जहाज काठमाडौ आइपुगेको छ ।
ए ३३० सिरिजको एअरबस कम्पनीको यो जहाज बिहीबार बिहान ८ बजेर २० मिनेटमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । विमानस्थलमा विमान अवतरण गर्दा मंगलधुन र पानीको फोहोराले स्वागत गरिएको थियो ।
२७४ सिट क्षमताको यो जहाजलाई निगमले ’अन्नपूर्ण’ नामकरण गरेको छ भने नेपाल नागरिक उड्डयन प्राधिकरणले ’९एन–एएलवाइ’ कलसाइन नाम दिएको छ ।
निगमका अनुसार यो जहाजलाई १० करोड ४८ लाख अमेरिकी डलरमा किनिएको हो । यो जहाजलाई एक महिनाभित्र नियमित व्यापारिक उडानमा प्रयोग गरिने छ । पहिलो उडान युएईको दुवईमा हुनेछ ।













