४ जेठ ०७५, काठमाडौं । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेका छन् ।
शक्रबार नेविसंघले सरकारले पेट्रोलियम पदार्थमा पटकपटक मूल्यवृद्धि गरेर जनतालाई मारमा पारेको भन्दै एक घण्टा बबरमहलस्थित निगम कार्यालयमा नारावाजी र घेराउ गरेका हुन् ।
नेवि संघका महामन्त्री कुन्दनराज काफ्लेले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए आन्दोलनलाई सशक्त बनाउँदै लैजाने बताए ।
त्यस्तै, नेविसंघले आज नै नेपाल आयल निगमका निमित्त नायब कार्यकारी निर्देशक सुशील भट्टराईलाई ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्र बुझ्दै नायब कार्यकारी निर्देशक भट्टराईले पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यवृद्धिअनुसार नै मूल्य समायोजन गरिएको बताए ।