२७ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रको ३ नम्बर प्रदेशको वैचारिक राजनीतिक प्रशिक्षणमा परिवर्तन उल्टाउने षड्यन्त्र भइरहेको बताएका छन् ।
‘माओवादीहरु एक भएर जनतामा नजाने हो भने परिवर्तन उल्टने खतरा छ’ प्रधानमन्त्री प्रचण्डले भने, ‘राजा महाराजाहरु सिंगापुर, दिल्ली बेइजिङ त्यसै गएका छैनन् ।’ धेरै कुरा भन्न नमिल्ने भन्दै उनले प्रधानमन्त्रीको हैसियतले जे जति सूचना प्राप्त छन्, त्यस आधारमा भनेको खुलासा गरे । पूर्व राजा ज्ञानेन्द्र शाहले हालैमात्र भारतका साथै चीन र सिंगापुरको भ्रमण गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै हिजो गणतन्त्र आउन सक्दैन भन्नेहरुले अहिले राष्ट्रवादको खोलमा वितण्डा मच्चाउने खेल त्यसै नगरेको बताए । उनले एमालेले थालेको आन्दोलनलाई पनि संघीयता, गणतन्त्रसहितका उपलब्धिहरु खोस्ने प्रयासका रुपमा ब्याख्या गरे ।
‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी जस्ता उपलब्धी खोस्न प्रतिगामी शक्तिले टाउको उठाउन थालेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी माओवादीहरु एक नहुने हो भने प्राप्त उपलब्धिहरु गुम्न सक्छन् । हामी समयमै सचेत हुनुपर्छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूमाथि लगाएको राष्ट्रघाती आरोप प्रमाणित गरेर देखाउन प्रमुख विपक्षी एमाले नेतृत्वलाई चुनौती दिँदै आफूले मुलुकको राष्ट्रियता, अखण्डता र हितविपरीत कुनै काम नगरेको भन्दै एमालेले गलत अफवाह फैलाएको बताए ।
आफू प्रधानमन्त्री निर्वाचित भएको दिनदेखि नै एमाले र केपी ओलीले काठमाण्डु–निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मा भारतलाई दिन र अंगीकृतलाई राष्ट्रप्रमुख र सरकार प्रमुख बनाउने ढोका खोल्न प्रधानमन्त्री भएको आरोप लगाएको भए पनि उक्त आरोप व्यवहारतः खारेज भइसकेको बताए ।
उनले काँग्रेस–एमालेले संवैधानिक समितिमा पेस गरेको अवधारणाअनुसार नै प्रदेश नम्बर ५ को सीमांकन हेरफेर गर्न लागिएको भन्दै धेरै राष्ट्रवादका कुरा नगर्न ओलीलाई चेतावनी दिए ।