पुनर्निर्माण प्राधिकरणको सीईओ बने भुसाल

७ कार्तिक ०७४, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नवनियुक्त सीईओ युवराज भुसालले मंगलबार कार्यभार सम्हालेका छन् ।

सरकारले पूर्वसचिव भुसाललाई सोमबार प्राधिकरणको कार्यकारी प्रमुख ‘सीईओ’ नियुक्त गरेको थियो ।

कार्यभार सम्हालेसँगै  कार्यकारी प्रमुख भुसालले सबै पीडितलाई नयाँ घरमा बसाल्ने कामलाई पहिलो प्राथमिकता दिने बताएका छन् ।

भुकम्प गएको ३० महिनाको अवधिमा चार जना सिईओ नियुक्त भइसके बिडम्बना०७२ बैशाखको भूकम्पले क्षति पुर्‍याएका संरचना निर्माण गर्न गठन भएको प्राधिकरणले राजनीतिक दाउपेचका कारण भुकम्प पीडितलाई टहरा र पालबाट घर सार्न सकिरहेको छैन् ।

को हुन् सीईओ भुसाल ?

०३७ जेठ २६  मा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सीर्इअोमा नवनियुक्त युवराज भुसालको सुरुको नियुक्ति गृह मन्त्रालयअन्तर्गत विशेष प्रहरी विभागमा थियो ।

त्यसपछि ९ मंसिर ०४३ मा सहायक सचिव बनेका उनी २६ पुस ०५१ मा उपसचिव बने । २५ कात्तिक ०५४ मा सहसचिवमा बढुवा भए । १९ साउन ०६६ मा सचिव बढुवा भए । र, सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा परे ।

पर्यटन, सामान्य प्रशासन, स्थानीय विकास मन्त्रालय, प्रधानमन्त्री कार्यालय, महिला बालबालिका, वन मन्त्रालय, राष्ट्रिय योजना आयोग हुँदै २७ चैत ०७० मा उनी अर्थसचिव बने । विशिष्ट श्रेणीमा पाँच वर्ष बिताएर ९ साउन ०७१ मा अर्थ मन्त्रालयबाटै सेवानिवृत्त भए ।

सेवानिवृत्त भएपछि उनले स्टाफ कलेज जावलाखेलमा अध्ययन निर्देशक बनेर काम गरे । केही महिनाअघि मात्र उनले पदबाट राजीनामा दिएका थिए ।

रामचन्द्र पौडेलका सम्धी भुसाल

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नवनियुक्त सीर्इअो युवराज भुसाल कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धी हुन् ।

प्राधिकरणका तत्कालीन सीईओ सुशील ज्ञवालीलाई सरकारले हटाएपछि पनि भुसाल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सीईओ बन्ने दौडमा थिए ।

तर, कांग्रेस-माओवादी गठवन्धनको सरकारले डा. गोविन्द पोखरेललाई नियुक्ति दिएको थियो ।

सिईओ बन्ने दौडमा रहेका भुसाल काँग्रेस नेतृत्वको सरकार भएको बेला भुसालको  पल्लाभारी भएको छ ।

तपाइको मत