पेट्रोलियम पदार्थ २६ गतेदेखि उठाउन बन्द गर्ने पेट्रोलियम व्यवसायीको चेतावनी

२५ साउन ०७४, काठमाडौं  । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनले आफ्ना मागहरु पूरा नभए २६ गतेदेखि देशभरका डिपोहरुबाट पेट्रोलियम पदार्थ उठाउन बन्द गर्ने र ३१ गतेदेखि बिक्री वितरण बन्द गर्ने चेतावनी समेत दिएको छ ।

बुधबार पत्रकार सम्मेलन गरी आन्दोलन घोषणा गरेको एशोसियसनले पेट्रोल पम्पमा तेल भर्दा देखिने अंकभन्दा कम परिमाणमा तेल वितरण भए पनि व्यवसायीहरुलाई कारबाही नगर्न माग गर्दै यस्तो चेतावनी दिएका हुन् ।

एशोसियसनले डिस्पेन्सिङ पम्पबाट कम तेल आउनुलाई प्राविधिक गडबडी भनेको छ ।

‘गुणस्तर तथा नापतौल कार्यालयबाट वा अन्य आधिकारिक निकायबाट बजार अनुगमन हुँदा डिस्पेन्सिङ पम्पमा लगाइएको सिल दुरुस्त हुँदाहुँदै प्राविधिक कारणले परिमाण घटीबढी भएमा पम्पलाई कारबाही नगरी तत्काल क्यालिब्रेशन गरिदिनुपर्ने ।’ एशोसियसनले आफ्नो मागमा भनेका छन् ।

बिक्रीस्थलमा डिस्पेन्सिङ पम्पबाट पेट्रोलियम पदार्थ बिक्री गर्दा नेपाल आयल निगमले जारी गरेको बिजकमा उल्लेख गरिएको परिमाण अनुसारकै परिमाण प्राप्त हुनपर्ने अथवा कम हुन जाने सम्पूर्ण परिमाण निगमले समायोजन गरिदिनुपर्ने लगायतका माग एशोसियसनले राखेको छ ।

पेट्रोल पम्पमा तेल भर्दा देखिने अंक भन्दा नोजलबाट झर्ने तेल कम परिमाणको हुने गरेको उपभोक्ताको गुनासो छ । गुनासोअनुसार बजार अनुगमन गर्दा पम्प सञ्चालकले सिल तोडेर परिमाण घटबढ गराएको पाइएको थियो ।

 

तपाइको मत