पोखरालाई लोडसेडिङ मुक्त गर्ने कुलमानको घोषणा

१९ पुस काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पोखरालाई लोडसेडिङ मुक्त गर्ने घोषणा गरेका छन् ।

kulman

उद्योग बाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा घिसिङले १५ दिनदेखि पोखरामा लोडसेडिङ नभएको जानकारी दिँदै अब लोडसेडिङ मुक्त भएको बताए ।

उनले पूर्वका धेरैजसो भाग लोडसेडिङ गर्न छाडिएको भन्दै छिट्टै पूर्वाञ्चल पनि लोडसेडिङ मुक्त बनाउने योजना रहेको बताए ।

विद्युत प्राधिकरणका प्रमुख घिसिङले भारतबाट चर्काे मूल्यमा बिजुली आयात पनि नगरिएको जानकारी दिए । खपत हुने उच्च समयमा प्रतियुनिट ५ रुपैयाँ ७५ पैसामा बिजुली आयात गरिएको भन्दै उनले भने, ‘महंगोमा आयात गर्‍यो भन्ने आरोपमा सत्यता छैन ।’

काठमाडौंलाई तिहारको लक्ष्मीपूजाबाट मात्रै लोडसेडिङ मुक्त बनाएका छन् । र, अब तालिका नल्याउने उनको बाचा छ ।

अन्तरिम आदेशलाई  निरन्तरता दिनु नपर्ने सर्वोच्चको फैसला

नेपाल विद्युत प्राधिकरण तीन सञ्चालकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई सर्वोच्च अदालतले निरन्तरता दिनु नपर्ने फैसला सुनाएको छ ।

सुरज लामिछानेले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतले १३ गते कारण देखाउ आदेश जारी गर्दै तीन सञ्चालकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेका थिए ।

तर, सर्वोच्चको यो आदेशपछि तीन सञ्चालक पुनः काममा फर्कन नपाउँदै मंगलबार प्रधानन्यायाधीश सुशीला कार्की र जगदीश शर्मा पौडेलको संयुक्त इजलासले यसको अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने फैसला सुनाएको छ ।

लोडसेडिङ हटाउने अभियानमा लागेका प्राधिकरण प्रमुख कुलमान घिसिङलाई असहयोग गरेको भन्दै उर्जा मन्त्रालयले तीन सञ्चालकलाई हटाएको थियो । अब तीन सञ्चालक लक्ष्मण प्रसाद अग्रवाल, मनोज कुमार मिश्र र सुरज लामिछाने मुद्दाको अन्तिम टुंगो नलागेसम्म पदमुक्त हुनेछन् ।

तपाइको मत